ग्वार्कोको फ्लाइओभर जेठ १५ भित्रै सकिने, अन्त्यसम्म सवारी सञ्चालन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
669
Shares
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर यही जेठ अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।
आइतबार बिहान फ्लाईओभर निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
जेठभरिमा निर्माण सम्पन्न भएलगत्तै फ्लाईओभरबाट सवारीसाधन सञ्चालनको तयारी गरिने उनले बताए । “अब पनि ढिलाइ गर्ने छुट छैन”, मन्त्री दाहालले भने, “परिस्थिति बाहिरको प्राकृतिक विपद् नआएमा जेठको अन्त्यसम्ममा सवारीसधान सञ्चालनको तयारी गर्नुपर्छ । यो एउटा प्रतिक्षाको आयोजना भएकाले यथाशीघ्र सञ्चालन गर्नुपर्ने छ ।”
फ्लाईओभरअन्तर्गत ३५ मिटर स्पानको चार लेन प्रिकाष्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्र निर्माण भइरहेको छ । फ्लाईओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका बताउँदै ती समस्या समाधान भइसकेका जानकारी दिए ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाईओभर महत्त्वपूर्ण योजनाका रूपमा रहेकाले यसलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने धारणा राखे ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्र भइरहेको छ ।
विसं २०८० फागुन ११ गते सम्पन्न गर्ने गरी रु १७ करोड ६ लाख ८८ हजारको लागतमा निर्माण सुरु भएको फ्लाईओभर निर्धारित समयमा सम्पन्न नभएपछि म्याद थप भएको थियो ।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् ।
ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।
निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ ।