arrow

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ९१.५१ प्रतिशत हासिल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
mechi bhansar office.jpg

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउनदेखि वैशाखसम्म) मा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५१ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो। उनले गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६.८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१.५१ प्रतिशत हासिल गरिएको बताए।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट सबैभन्दा बढी ६०.५५ प्रतिशत अर्थात् रु सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ। यसैगरी, तरकारीको आयातबाट रु ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट रु २४ करोड १० लाख ३० हजार, कफीबाट रु १९ करोड ३६ लाख ९० हजार र दलहनबाट रु २० करोड २९ लाख ९४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

यस अवधिमा मेची भन्सारबाट रु २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा रु १९ करोड ८९ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ। सोही अवधिमा रु ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा रु १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ