पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो आर्थिक अनियमितता: सांसद केसी [भिडियो]
विमानस्थल निर्माणमा "सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको"
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
505
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको गम्भीर आरोप लगाएका छन्। बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विमानस्थल निर्माणमा "सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको" बताए।
सांसद केसीले महँगो ब्याजमा ल्याइएको ऋण नेपाली जनताको थाप्लोमा बोकाएर चुपचाप बस्ने परम्परा स्थापित गर्न नहुनेमा जोड दिए। उनले निर्माणको जिम्मा देशसँग नभई छिमेकी देशको ठेकेदार कम्पनीसँगको सम्झौता भएकाले कसैलाई रिसाउँछ भनेर प्रतिवेदनमा भ्रष्टाचारको कुरा लुकाउन नमिल्ने उल्लेख गरे।
"यो सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको छ। यसमा धेरै आर्थिक अनियमितता भएको छ," उनले भने, "यो चीन र नेपालको डिप्लोमेटिक रिलेशनसँग सम्बन्धित कुरा होइन। एउटा ठेकेदार कम्पनीसँग सम्बन्धित कुरा हो।"
उनले ठेकेदार कम्पनीसँगको सम्झौतामा अनियमितता र आर्थिक घोटाला भएकोबारे स्थलगत अध्ययन गरेर दिइएको निर्देशनअनुसार नै प्रतिवेदन आएको बताए। उक्त प्रतिवेदनलाई पूरक मतसहित अख्तियारमा पठाउने काम गर्नुपर्ने उनको भनाइ थियो।