कांग्रेसको उच्च प्राथमिकतामा विकास–निर्माण: प्रवक्ता महत
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
514
Shares
तनहुँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विकास–निर्माणका कार्यलाई आफ्नो पार्टीले उच्च प्राथमिकतामा राखेको बताएका छन्। बन्दीपुर गाउँ कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले कांग्रेसकै नेतृत्वमा देश विकासको पथमा सशक्त ढंगले अघि बढ्ने दाबी गरे।
पूर्वअर्थमन्त्री समेत रहेका महतले लोकप्रियताका लागि हचुवाको भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्तिको आलोचना गर्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले बजेट छर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाए।
प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता अपरिहार्य रहेको औँल्याए। उनले भने, "कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन।"
कांग्रेसको नीति एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको उनले स्पष्ट पारे। निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतको भनाइ थियो।