परेश रावललाई हेराफेरी छाडेको भन्दै अक्षयले मागे २५ करोड जरिबाना
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
822
Shares
तस्बिर – परेश रावल, फाइल ।
मुम्बई । चलचित्र ‘हेराफेरी ३’ पछिल्लो समय चर्चामा छ । परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका छन् । यसैबीच अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’ मार्फत परेश रावललाई कानूनी नोटिस पठाएको खबर छ ।
उक्त सूचनामा उनले फिल्मको छायांकन बीचमै छाडेर गैर–व्यावसायिक तरिका अपनाए बापत २५ करोड रुपैयाँ हर्जनाको माग गरेका छन् ।
वास्तवमा अक्षय कुमार यस फिल्मको मुख्य अभिनेता र निर्माता पनि हुन् । उनले फिल्म ‘हेराफेरीः ३’ को राइट कानूनी रूपमा फिरोज नाडियाडवालाबाट किनेका थिए ।
एचटी रिपोर्टका अनुसार यस केससँग सम्बन्धित कानूनी स्रोतले भन्यो, ‘परेश रावलले आफ्नो व्यावसायिक जिम्मेवारी राम्ररी पूरा गरेनन्। यदि उनी फिल्म गर्न चाहँदैनन् भने छायांकन सुरु हुनुभन्दा पहिले नै र पैसा खर्च हुनुअघि नै अस्वीकार गरिनुपर्थ्यो, अब समय आएको छ बलिउडमा पनि यो प्रस्ट हुनुपर्छ कि जसरी हलिउडमा हुन्छ, यहाँ पनि कसैले आफ्नो इच्छाले फिल्म छोड्न सक्दैनन् ।’ यो चलचित्रका लागि उनले सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक लिइरहेको स्रोतले जनाएको छ ।
उता बलिउड हंगामाको रिपोर्ट अनुसार परेश रावल आफैंले फिल्म ‘हेराफेरी ३’ छाडेको पुष्टि गरेका थिए । मिडिया रिपोर्टका अनुसार फिल्म छाड्नुको कारण निर्मातासँगको रचनात्मक मतभेद रहेको बताइएको छ ।
यद्यपि पछि एक्समा एक पोस्ट साझा गर्दा अभिनेता रावलले भने, ‘हेराफेरी ३’ बाट पछि हट्ने मेरो निर्णय कुनै रचनात्मक भिन्नताका कारण होइन भन्ने स्पष्टसँग भन्न चाहन्छु । प्रियदर्शनजी प्रति मेरो गहिरो आदर, स्नेह र विश्वास छ।’
उद्योग विशेषज्ञहरू विश्वास गर्छन् कि २०२२ मा अक्षय कुमार पनि फिल्मबाट टाढा गएका थिए, जसका कारण दर्शकहरू निराश भएका थिए तर पछि उनी फिल्ममा फर्केका थिए। त्यसैगरी परेश रावलले पनि पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।