पहिलो पटक विश्वकप छनोटमा पुगेको नेपाली महिला टोली थाइल्याण्डसँग पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
606
Shares
काठमाडौँ । पहिलो पटक टी–२० विश्वकप क्रिकेटको छनोटमा पुगेको नेपाली महिला क्रिकेट टोली एसिया च्याम्पियन बन्न भने असफल भएको छ । आज भएको विश्वकपको एसिया क्षेत्रीय छनोटको सुपर थ्रीको अन्तिम खेलमा थाइल्याण्डसँग ७८ रनले पराजित भएसँगै एसिया च्याम्पियन बन्न असफल भएको हो ।
थाइल्याण्डको राजधानी बैंककमा भएको महिला टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ मा सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकप छनोटमा पुगेको नेपालले आज थाइल्याण्डलाई हराएको भए एसिया च्याम्पियनको उपाधिसमेत जित्ने थियो ।
तर आज कमजोर खेलेसँगै नेपालको उपाधि जित्ने सपना भने पूरा भएन । एसियो छनोटबाट थाइल्याण्ड र नेपाल छनोट चरणमा पुगेका हुन् ।
नेपाललाई भाग्यले साथ दिएसँगै विश्वकप ग्लोबल छनोटमा छानिन सफल भयो । किनकि समूह चरणमै नेपाललाई भाग्यले साथ दिएसँगै सुपर थ्रीमा पुग्न सफल भएको थियो । यदि वर्षाले खेल रद्द नभएको भए हङकङले बहराइनलाई हराउन सक्दा नेपाल बाहिरिएर हङकङ सुपर थ्रीमा पुग्न सक्दथ्यो । वर्षाले रद्द हुँदा हङकङले अंक बाँड्दा अंक बराबरी भएको थियो । साथै नेट रन रेट हङकङको राम्रो भए पनि बढी जितको आधारमा नेपाल अर्को चरणमा पुग्दा हङकङ बाहिरियो ।
आईसीसीको नियम अनुसार डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान रहेको छ ।
नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएको थियो । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन भएको थियो ।
आजको खेल
सुपर थ्रीको पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो । थाइल्याण्डले सुपर थ्रीमा यूएई र नेपाललाई हरायो । यूएईलाई ५४ रनले हराएको थाइल्याण्डले नेपाललाई ७८ रनले हरायो ।
थाइल्यान्डण्डको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाउँदै १५८ रन बनायो । नान्नापात कोन्चारोएनकाईले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ८ चौकाको मद्दतले ५० रन बनाइन् ।
ओपनर नटाया बुचथमले पनि संयमित खेल्दै ४२ बलमा ५ चौकाको सहयोगमा ५० रनको योगदान गरिन् ।
नेपालका लागि राजमती ऐरी र मनिषा उपाध्यायले समान १–१ विकेट लिए । अन्य बलरहरु असफल भए ।
जवाफमा नेपालले कमजोर खेल्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । नेपालका लागि कविता कुँवरले २४ तथा राजमती ऐरीले २० रन बनाइन् । त्यस्तै रुबिना क्षेत्रीले १२ रन बनाए बाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् । ओनिचा काम्चोम्फूले ४ विकेट लिइन् ।
अबको बाटो
नेपाल र थाइल्याण्डले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा खेल्नेछन् । विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये शीर्ष चार टोली इङ्गल्याण्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा सहभागी हुनेछन् ।
यसअघि सन् २०२४ मा भएको विश्वकपमा देखाएको प्रदर्शनका आधारमा साविक विजेता न्यूजिल्याण्डसँगै भारत, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, इङ्गल्याण्ड र वेस्ट इन्डिजले आफ्नो स्थान पक्का गरिसकेका छन् ।
दुई वर्षअघिको विश्वकपबाटै बंगलादेश र स्कटल्याण्डले पनि विश्वकप छनोटमा स्थान पक्का गरेका थिए । अमेरिकी क्षेत्रबाट अमेरिका विजेता बनेर विश्वकप छनोटमा पुगिसकेको छ ।
युरोप र अफ्रिकाको क्षेत्रीय छनोटबाट २–२ तथा इस्ट एसिया प्यासिफिकबाट एक गरी विश्वकप छनोटमा थप ५ टोली पुग्नेछन् ।
विश्वकप ग्लोबल छनोटको मिति र आयोजक राष्ट्रको घोषणा हुन भने बाँकी छ ।
के थियो नेपालको विगत ?
नेपालले पहिलो पटक यति ठूलो सफलता हासिल गरेको हो ।
नेपाली महिला क्रिकेटले सन् २००७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेकामा पहिलो सहभागितामै एसीसी महिला च्याम्पियनशिपको फाइनलमा पुगेको थियो । नेपाल फाइनलमा बंगलादेशसँग पराजित भयो ।
यो १८ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाली महिला टोलीले यसपालि हासिल गरेको उपलब्धि नै सबैभन्दा ठूलो हो । यसअघिका वर्षहरुमा नेपालको यात्रामा बाधक बनेको यूएईलाई नेपालले यसपालि राम्रोसँग जवाफ दिएर अगाडि गएको हो ।