arrow

महतको दाबीः कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न सकेन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
mahat-prakashsaran-12-14.jpg
फाइल तस्बिर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महतले सरकारमा रहँदा गरेका कामको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताएका छन् । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनको पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका छन् ।

विसं २०४८ यता स्वास्थ्य, शिक्षा, सञ्चार, सडक, पुल र विद्युत् जस्ता विकास निर्माणले तीव्रता पाए पनि त्यस्ता कार्यको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको उनले बताए ।

व्यक्तिगत गालीगलौज र प्रतिस्पर्धाभन्दा कांग्रेस सरकारमा हुँदा गरेका कामको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न सकेमा कांग्रेसलाई कसैले पराजय गर्न नसक्ने उनको भनाइ छ ।

सङ्गठन निर्माण र आफूले गरेका कामको बिक्री गर्न नसक्दा कांग्रेसको प्रगति जुन रुपमा हुनुपर्ने थियो, त्यसरी हुन नसकेको निष्कर्ष उनको छ । 

“कांग्रेसको नीति र विचार ठीक भएकै कारण अन्य पार्टीहरु पनि लोकतान्त्रिक बाटोमा आएका छन्,” उनले भने, “वीपीको नीतिलाई आत्मसात गर्दै देश र जनताप्रति प्रतिबद्ध भएर कांग्रेसका नेता तथा कार्यकर्ता अघि बढ्नुपर्छ ।” 

सत्तामा रहँदा मात्र जनताका काम गर्न सकिने भएकाले कांग्रेस गठबन्धनको सरकारमा संलग्न भएको उनले बताए । मिश्रित निर्वाचन प्रणाली भएसम्म कुनै पार्टीको बहुमत आउन नसक्ने उनको धारणा छ । राष्ट्रबैंकको गर्भनरमा सक्षम व्यक्ति ल्याउनुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले नेपाली जनताका चाहना पूरा गर्न कांग्रेस सक्रिय हुनुपर्नेमा जोड दिए । उनले नयाँ आउने पार्टीले नेपाली जनतालाई सेवा गर्न नसक्ने बताए । 

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल, पूर्वमन्त्री यज्ञबहादुर थापा, मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ