एमालेका केन्द्रीय सल्लाहकार राप्रपा नेपालमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
3.2k
Shares
इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।
सुनसरीको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रुपमा अघि बढ्ने दाबी गरे ।
‘निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ, धारा २७४ ले यसको बिकल्प खोज्ने अधिकार स्वीकार गरेको छ , गणतन्त्रको विकल्प खोज्ने कुरा संविधान विरोधी होइन’, उनले स्पष्ट पारे ।
अनावश्यक हस्तक्षेप गर्ने, बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्बाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो ।
‘ूयो राष्ट्रवादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्नलागेको आन्दोलन हो, कुनै विदेशी प्रभाव र उक्साहट छैन’ थापाले थपे । मुलुक युवाविहीन भैसक्यो, भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ, सिङ्गो गाउँका गाउँ धर्म परिवर्तनको चपेटामा छ, बेरोजगारी र कुशासन भनिसाध्य छैन, यस्तो बेलामा जनताले विकल्प खोज्छन् , जनतालाई रोक्ने दुष्साहस कतैबाट नहोस् भन्दै थापाले संवाद र सहमतिमा पनि निकास खोज्न सकिने भएकोले गणतन्त्रवादीहरुलाई सहमतिको बाटोमा आउनसमेत थापाले आमन्त्रण गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सुनसरी जिविसका पूर्व सभापति रमेश श्रेष्ठ, इनरुवाका पूर्व उपमेयर माधव पोखरेललगायतका नेता कार्यकर्ताहरु राप्रपा नेपालमा प्रवेश गरेका थिए ।
आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन् । कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल, तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधव आचार्य , रामबिलास मेहता लगायतले बोलेका थिए ।