तरुण दल अधिवेशनमा खुकुरी हानाहान, वडाध्यक्षसहित चार घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
749
Shares
लमजुङ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा शनिबार खुकुरी प्रहार हुँदा चार जना घाइते भएका छन्। बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित तरुण दलको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधि छनोटको विवादले उग्र रूप लिँदा खुकुरी हानाहान भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार घाइते हुनेहरूमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन्।
घाइतेमध्ये वडाध्यक्ष गुरुङ र विद्यार्थी नेता अधिकारीलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ। प्रतिनिधि छनोटको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको र सोही क्रममा खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पूर्णकालीन सदस्यता र प्रतिनिधि चयन प्रक्रिया लगायतका विषयमा दुई समूहबीच असन्तुष्टि रहेको बताइएको छ।