नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले बैशाख १९ गते पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणको श्वैतपत्र जारी गरेपछि यसमा लेखिएका कुरा सुन्दा वा पढ्दा यो श्वेतपत्र नभएर करेन्टपत्र जस्तो लाग्यो । यसमा प्राधिकरणको वास्तविक अवस्था देखाउनु भन्दा पनि जनतालाई भ्रममा पार्ने र निवर्तमान कार्यकारी निर्देशक कुलमान उज्यालोका नायक होइनन् भन्ने कुरा देखाउने प्रयास गरियो ।
नेपालको राजनीतिमा नेताहरूले ढाँट्ने,छल्ने र झुक्याउने कुरा खासै नौलो त थिएन ।त्यसमा पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जति टुनामुना, उखाने गफ र स्टन्ट गर्न त अरु कसैले जानेकै छैनन् । सामाजिक सन्जालमा वर्तमान प्रधानमन्त्री केपी ओलीकै सालो भनेर आरोपित कार्यकारी निर्देशक हितेन्द्रमानको श्वेतपत्रमा झल्याकझुलुक भिनाजुकै छायाँ देखियो र श्वेतपत्रले निवर्तमान कार्यकारी निर्देशकलाई राम्रै तरिकाले डाम्ने प्रयास गरियो अनि कुलमानका शुभचिन्तकलाई अचम्मले झड्का दिइयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारद्वारा नियुक्त गरिएका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले विद्युत प्राधिकरणको आयव्ययमा वर्तमान ऊर्जामन्त्री दीपक खड्काले समयसमयमा प्रयोग गरिरहने राजनीतिक र आर्थिक भाषासमेत मिसाएर अनेक टुनामुना अनि जादू लगाएर श्वेतपत्र भनेर गोलमोलपत्र प्रस्तुत गरेको जस्तो देखियो । निवर्तमान कार्यकारी निर्देशक कुलमानले एक महिना पहिले १० अर्ब नाफामा रहेको भनिएको संस्थान अहिले एकाएक ५ अर्ब नोक्सान वा घाटामा छ भनिनु अत्यन्तै रहस्यात्मक, शंकास्पद र जादुगरी घटना भएको देखिन्छ ।
नेपालको अस्थिर र दुर्गन्धित राजनीतिले नेपालका सरकारी संरचना र संस्थानहरू यति अनपत्यारिला भएकि अब त कसैलाई पनि विश्वास गर्न नसकिने अवस्थामा पुग्दैछन् तर मुख्य राजनीतिक दलहरू र तिनका नेताहरूले यसलाई स्वीकार्नै सक्दैनन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सरकारी संस्थानलाई यसरी रातारात घाटामा देखाइनुलाई एउटा सामान्य घटना मान्न सकिन्छ त ?
यस संस्थानभित्र ठूलो आर्थिक,राजनीतिक,व्यापारिक चलखेल हुन गैरहेको स्पष्ट देखिन्छ।विद्युत प्राधिकरणको श्वेतपत्रमा संस्थानको संरचना र आयव्ययका अतिरिक्त प्रतिशोधपूर्ण तरिकाले निवर्तमान कार्यकारी निर्देशकलाई दोषी बनाउने तरिकाले लेखाशास्त्रभित्र नै राजनीतिशास्त्रको भाषा घुसाएको देखिन्छ ।
यसमा कार्यकारी निर्देशकले अत्यन्तै हल्का,गैरजिम्मेवार र लापरबाही व्यवहार प्रस्तुत गरेको देखिन्छ। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकलाई बदनाम गराउन यस्तो षड्यन्त्र गरिए पनि वर्तमान कार्यकारी निर्देशकमाथि नै ठूलो प्रश्नचिन्ह उठेको छ। हुनत हितेन्द्रमान कुनै प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका होइनन् ।
उनलाई कार्यकारी निर्देशक बनाउन यो सरकारले लामो कसरत गरेको थियो । हितेन्द्रमान आए लगत्तै संस्थानभित्र विधि र नियम हराउँछ्न र विचौलियाको प्रवेश हुन्छ भन्ने नै थियो । साँच्चिकै ती कुराहरू श्वेतपत्रबाटै शुरु भएको देखिन्छ।विद्युत प्राधिकरणको लेखा प्रणाली व्यक्तिको एकाधिकार वा राजनीतिक प्रभावबाट चलेको देखियो।यति ठूलो संस्थानभित्र लेखाको इतिहास, संगठनको कार्यशैली र प्रणाली, नियम र विधिलाई ठाडै अस्वीकार गरेको जस्तो देखियो । कार्यकारी निर्देशक नै लेखाको सर्वेसर्वा भएर मनपरि गरे जस्तो देखियो ।
विद्युत प्राधिकरणमा लेखाको व्यवस्थापन र अन्य कर्मचारी नभएजस्तो देखियो ?श्वेतपत्रको भाषाले त एकमहिना पहिले नाफा देखाउने र एकमहिना पछाडि घाटा देखाउने कर्मचारीहरूको कार्य क्षमतामा पनि प्रश्नचिन्ह उठेको देखिन्छ । सरकारी सम्पत्तिलाई यसरी व्यक्तिपिच्छे जस्तो मन लाग्यो त्यस्तै बनाउन मिल्छ र ? अहिलेको तथ्याङ्क वा मिथ्याङ्कलाई हेर्दा विद्युत प्राधिकरणभित्र ठूलो चलखेल हुँदैछ भन्न कुनै शङ्कोच मान्नु पर्दैन जस्तो लाग्छ ।
विगत एक वर्षदेखि सिङ्गो राज्यशक्ति निवर्तमान कार्यकारी निर्देशक कुलमानलाई हटाउन लागेको थियोे,अन्ततःचार महिना कार्यकाल रहँदै विभिन्न कमजोरी र दोष देखाउँदै पदबाट हटायो। उज्यालोका नायक भनेर चिनिएका कुलमानलाई आयव्ययमा गडबड गरेकै हो भन्ने यो सरकारलाई लागेको हो भने तुरुन्त कानुनको कठघरामा उभ्याउनु पर्छ नत्रभने यो अर्को स्टन्टबाजी हो भनेर बुझ्न कुनै गाह्रो छैन।
केपी ओलीको आदेशमा ऊर्जामन्त्री दीपक खड्काका क्रियाकलाप र कार्यशैलीका बारेमा थुप्रै आरोपहरू र प्रश्नहरू उठिरहेका सन्दर्भमा र उनैले कुलमानलाई हटाउन न्वारनदेखिकै बल प्रयोग गरेको हुनाले कुलमानलाई असफल देखाउन अहिले श्वैतपत्रको नाममा गोलमोलपत्र ल्याएको आरोपहरू लागेका छन् । दीपक खड्काले नै केपी ओलीको आदेशमा बनावटी रुपमा निवर्तमान कार्यकारी निर्देशक कुलमानलाई असक्षम र नेपाल विद्युत प्राधिकरण घाटामा देखाउन यो प्रपञ्च रचिएको भनिएको छ । राम्रोभन्दा पनि हाम्रोलाई नियुक्ति गर्दा राज्यका धेरै अङ्गहरू यसरी कमजोर र धराशायी हुँदै गएका छन्।
देशको सामाजिक,राजनीतिक र आर्थिक अवस्था नै अस्थिर र शङ्कटोन्मुख भएको अवस्थामा एउटा धिपधिपे बत्ती बनिरहेका कुलमानलाई हटाउन वर्तमान सरकार यति धेरै मरिहत्ते गर्यो कि अहिले त शरीरबाट ठूलै खिल नै निकाले जस्तो महशुस गरेको देखिन्छ । सायद अब विद्युत प्राधिकरणमा दलाल र बिचौलीको सहज प्रवेश गराउन वर्तमान सरकारलाई सजिलो हुने देखिन्छ ।
नेपालको विद्युत उत्पादनमा झोलामा खोला र लाइसेन्स प्राप्त गर्न करोडौंका चलखेल हुन्छन् भन्ने कुरा नौला होइनन्।वर्तमान मन्त्री नै पनि जल विद्युत आयोजनाका प्रबर्द्धक हुन् । उनी जलविद्युतभित्र कसरी भ्रष्टाचार र लाभ प्राप्त गर्न सकिन्छ भन्ने कुरामा पक्कै पनि अनभिज्ञ छैनन् ।
उनले विद्युत प्राधिकरणमा हस्तक्षेप गरी आफ्नो व्यापारिक र व्यावसायिक पहुँच कायम गर्न प्राधिकरण भित्रै आफ्नो कार्यालय स्थापनासमेत गरे । निवर्तमान कार्यकारी निर्देशक कुलमानका विपक्षमा जे जस्तो श्वेतपत्र निकाले पनि नेपाली जनता यसमा विश्वास गर्ने पक्षमा अहिले देखिँदैनन् ।
कुनै काम गर्दा प्रशस्त नगद नहनु स्वाभाविक कुरा नै हो । सम्पत्तिको दुरुपयोग भएको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो । वर्तमान सरकारले कुलमानको काम नदेखे पनि नेपाली जनताले २०७२/०७३ पहिले १८ घन्टासम्म लोडसेडिङ भोगेको बिर्सेका छैनन् । जब कार्यकारी निर्देशकमा कुलमानको नियुक्त हुन्छ त्यसपछि उनकै नेतृत्वमा देशलाई लोडसेडिङ मुक्त गरिएको थियो र नेपाली जनताले उनलाई उज्यालोको नायक र बिजुलीका पर्याय भनेर हौसला र सम्मानपूर्वक उपाधि दिएका थिए ।
नेपाली जनताको अन्तरमन र मुटुमा कुलमान बसिसकेका छन् । आज कुनै सरकारी निकाय वा संस्थामा कुनै नेतृत्वले चाह्यो भने कसरी जादूगरी उपलब्धि हासिल गर्न सक्छ भनेर कुलमान दृष्टान्त बनिसकेका छन् । नेपालका प्रायः सबै सरकारी निकाय र संस्थानहरू अविश्वसनीय र धराशायी बनेको अवस्थामा विद्युत प्राधिकरण भने बलियो हुँदै जानुमा कुलमानकै नेतृत्वको कारण हो भन्नलाई हिच्किचाउनु पर्दैन ।
कुलमान आउनुअघि नेपाल विद्युत प्राधिकरण ३५ अर्ब घाटामा रहेको अहिले ४७ अर्ब फाइदा रहेको त महालेखा परीक्षक प्रतिवेदन त झुटो पक्कै होइन होला ? नेपालमा अब त न्यायपालिकादेखि महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धानसम्म कसैलाई पनि विश्वास गर्न नसक्ने अवस्थामा पुगेका देखिन्छन् । मूल केन्द्र राजनीति नै दूषित हुनाले आज सम्पूर्ण अङ्गहरू यसरी प्रदूषित,घृणित,अनपत्यारिला र अविश्वासिला हुँदै गएका छन् ।
विद्युत प्राधिकरणको लेखाशास्त्रभित्र अहिले जबर्जस्त नेपाली दुर्गन्धित राजनीतिको भाषा समावेश गरेर श्वेतपत्र जारी गरेपनि कुलमान घिसिङको योगदानलाई नेपाली जनताले कदापि बिर्सन सक्दैनन् । वर्तमान प्रधानमन्त्री, ऊर्जामन्त्री र कार्यकारी निर्देशकको मिलेमतोमा बनाइएको र जारी गरिएको श्वेतपत्रमा जे जस्तो रुपमा बाहिर ल्याइए पनि विद्युत प्राधिकरणको वास्तविक आयव्यय जति मेटे पनि मेट्न सकिँदैन ।
विद्युत प्राधिकरणमा कुलमान नियुक्त हुनुअघि नेपालमा विद्युतीकरण ५८ प्रतिशत थियो र अहिले करिब ९९ प्रतिशतमा पुगेको छ । त्यस्तै आठ वर्ष पहिले २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेका छन्।कुलमान आउनु अघि ३ अर्ब ७२ करोड युनिट खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । त्यतिबेला प्रतिव्यक्ति ऊर्जा खपत १३१ युनिट हुने गरेकोमा अहिले ४०० युनिट पुगेको देखिन्छ ।
आठवर्ष पहिले ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ संचित नाफामा पुगेको छ।अहिले प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँ भन्दा बढी रहेको बताइन्छ । कुलमानलाई उनको पूरा कार्यकाल काम गर्न दिएको भए नेपाल विद्युत प्राधिकरणले प्रतिकित्ता ३ सय रुपैयाँका दरले सार्वजनिक रुपमा शेयर जारी गरिसक्थ्यो ।
प्राधिकरणले करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ कायम गरी ऊर्जा निःशुल्क गरिएको छ । कुलमानले आफ्नो आठ वर्षको कार्यकालमा यी माथि भनिएका बाहेक थुप्रै उपलब्धिहरू विद्युत प्राधिकरणमा हासिल गरेका छन् । वास्तवमा आठ वर्षको समयावधिमा नेपाल विद्युत प्राधिकरणले एउटा ऐतिहासिक छलाङ नै प्राप्त गरेको थियो ।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालका राजनीतिक नेताहरू जस्तै जनतालाई भ्रममा पारेर कुनै स्टन्ट र भिडबाट नभई काम गरेर उज्यालोका नायक बनेका हुन् । वर्तमान सरकारले कुलमानलाई जेजस्तो दोषी बनाउन खोजे पनि उनको अब्बल व्यवस्थापकीय क्षमता र दूरदृष्टिकै कारण आज नेपाल विद्युत प्राधिकरणले यति ठूलो सफलता हासिल गरेको छ ।
अहिले नै पनि नेपालका प्राय:जसो संस्थानहरू उठ्न नसकिने गरी थला परिरहेका छन्।उखान, बकम्फुस गफ र स्टन्टले होइन कामले देश बन्छ भन्छ कुरा कुलमानले देखाइदिएका छन् र योजना र सपना भयो भने असम्भव भन्ने कुरा केही पनि हुँदैन भनेर कुलमान उदाहरणीय बनेका छन् ।
नेपालमा आजभन्दा आठ वर्ष पहिले बिजुलीको अवस्था कस्तो थियो र अहिले कस्तो छ, तथ्यमै स्पष्ट छ त । कुनै मन्त्री वा निर्देशक लाई मन नपरेर, डाहा लागेर, रीस उठेर र आफ्नो स्वार्थ पूरा हुन सकेन भन्दैमा वास्तविक तथ्यांकलाई मिथ्याङ्क गराउन मिल्दैन । (स्तम्भकार पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)