प्रि-बजेट छलफलमा सत्तारुढ दलका भेट्रान नेता सक्रिय नदेख्दा आश्चर्य लाग्यो - एमाले सांसद थापा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
2.5k
Shares
काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलका अनुभवी नेताहरू सक्रिय नभएको टिप्पणी गरेका छन्। आज बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि-बजेट छलफलमा सत्तारुढ दलका 'वाकपटु' र 'भेट्रान' नेताहरू सक्रिय नहुँदा आश्चर्य लागेको बताए। उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
सांसद थापाले बजेट वक्तव्य जारी नहुँदै सत्तारुढ दलकै नेताले बजेट पुस्तक च्यात्ने धम्की दिने कुरा पनि आश्चर्यजनक भएको बताए। बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणका लागि बजेट विनियोजन नगरिए बजेट पुस्तक च्यात्ने चेतावनी दिएका थिए। सांसद थापाले सत्तारुढ दलकै नेताहरूले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भने, “नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्यूहरू र भेट्रान नेताज्यूहरूलाई सक्रिय देखिरहेको छैन। मलाई आश्चर्य लागेको छ। हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्यूले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन। यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ। यसअघिका तीन जना अर्थमन्त्रीहरू त्यही क्षेत्रबाट भन्नुभएको रहेछ। हामी नयाँ सांसदहरूलाई पुराना पाका र अग्रज सांसदहरूले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोस्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि? आज के भन्न मन लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली निर्दलीय प्रधानमन्त्री होइन दुई ठूला राजनीतिक पार्टी र अन्य साना पार्टीको संयुक्त सरकारको प्रधानमन्त्री हुनुहुन्छ।”
सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै उनले यसतर्फ सोच्न आवश्यक रहेको बताए।