नयाँ संसद भवनबाट हिउँदे अधिवेशन सञ्चालन गर्न सरकारलाई समितिको निर्देशन [भिडियो]
निर्माण कार्यको मासिक अन्तिम मूल्याङ्कन गरी १५-१५ दिनको प्रगति प्रतिवेदन तयार पारेर समितिमा समेत पठाउनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
604
Shares
काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले आगामी हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन हुने गरी आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको प्रगतिबारे छलफल गर्न बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समितिका सभापति ठाकुरप्रसाद गैरेले आगामी हिउँदे अधिवेशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै नयाँ भवनबाट सञ्चालन हुनुपर्ने आफ्नो समितिको अपेक्षा रहेको बताए।
उनले निर्माण सम्झौता अनुसार फिल्डमा आवश्यक मेसिनरी, सामग्री र जनशक्तिको दैनिक अनुगमन गर्न, निर्माण सामग्रीको गुणस्तरको निरन्तर जाँच गर्न र देखिएका कमीकमजोरी तत्काल सुधार्न सरकारलाई निर्देशन दिए। साथै, प्रविधि जडान र आन्तरिक सजावट (इन्टेरियर) को कामलाई सचिवालयका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी तोकिएको समयमा सम्पन्न हुने गरी अनुगमन गर्न पनि उनले आग्रह गरे।
सभापति गैरेले निर्माण कार्यको मासिक अन्तिम मूल्याङ्कन गरी १५-१५ दिनको प्रगति प्रतिवेदन तयार पारेर समितिमा समेत पठाउनुपर्ने बताए। यसले निर्माण कार्यमा थप जिम्मेवारीबोध हुने उनको विश्वास छ।
तोकिएको समयमा नयाँ संसद भवन निर्माण सम्पन्न नभएकोमा असन्तुष्टि व्यक्त गर्दै सभापति गैरेले थप गरिएको समयसीमामा पनि निर्माण सम्पन्न हुनेमा आशंका व्यक्त गरे।