दोलखाका पाका एमाले नेता पाख्रिन र दाहालसहित डेढ सय कार्यकर्ता कांग्रेसमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
3.3k
Shares
दोलखा । नेकपा एमाले दोलखाका लोकप्रिय युवा नेता महेश पाख्रिनसहित डेढ सय एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
करिब पाँच दशक एमालेमा रहेर गाउँकमिटी अध्यक्ष, पालिका सचिव, क्षेत्रीय सदस्य हुँदै बागमती प्रदेश खानेपानी विभागका सदस्यसमेत रहेका पाख्रिनले पार्टीका पछिल्ला गतिविधि र नेतृत्व मन नपरेका कारण आफूले पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।
उनीसँगै चेतेश्वर वडा नम्बर २ का दर्जन भन्दा बढी एमाले र माओवादी अन्य युवाहरुले समेत सामूहिक रूपमा पार्टी त्यागेर कांग्रेसमा प्रवेश गरेका छन् । त्यसैगरी नेकपा एमालेको पकट क्षेत्र मानिने वैतेश्वरको वडा नम्बर-४ काब्रेका एक सय २० जना एमाले कार्यकर्ताले पनि सामूहिक रूपमा एमाले पार्टी त्यागेर कांग्रेसमा प्रवेश गरेका छन् ।
वडा नम्बर-४ एमालेको संगठनको हिसाबले बलियो वडा हो । लामो समयदेखि एमालेमा बसेर पार्टीलाई सहयोग गर्दासमेत पार्टीले कार्यकर्ता र गाउँको हित विपरीत काम गरेको,आफूहरुका समस्यालाई बेवास्ता गरेको भन्दै स्थानीय एमाले नेता प्रकाश दाहालको नेतृत्वमा एक सय भन्दा बढीले पार्टी छाडेका हुन् ।
समृद्ध वैतेश्वर निर्माणमा कांग्रेसले मात्रै काम गर्न सक्ने देखिएकाले आफूहरुले पार्टी त्यागेको नेता दाहालले बताए । पार्टी परित्याग गर्नेहरुलाई कांग्रेस दोलखाका सभापति बर्मा लामा र उपसभापति छबि लामा नेता ताराकुमार खड्का, क्षेत्रीय पार्टी उपसभापति सुवास लामा लगायतका कांग्रेस नेताहरुले स्वागत गर्दै सदस्यता प्रदान गरे ।
पार्टी प्रवेश कार्यक्रम कांग्रेस वैतेश्वर कार्यसमितिका कार्यबाहक पार्टी सभापति मनिक तामाङको अध्यक्षयतामा मैनापोखरी बजारमा आयोजना गरिएको पार्टी सचिव यादव तामाङले जानकारी दिए ।
कार्यक्रमलाई पार्टी सभापति बर्मा लामा, वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, कांग्रेस नेता ताराकुमार खड्का, कार्यबाहक सभापति मनिक तामाङ, उपसभापति प्रभुश्रण मोक्तान, सचिव बिमला घिमिरे, पार्टीमा प्रवेश गर्ने महेश पाख्रिन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।