एमालेले एनआरएनएलाई दलीय स्वार्थमा प्रयोग गर्दैन : ओली [भिडियो]
नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाको रुपमा अघि बढाउन तपाईंहरु सफल हुनुस्
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
597
Shares
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैह्र आवासीय नेपाली संघ (एनआरएनए) लाई आफ्नो पार्टीको हितमा प्रयोग नगर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एनआरएनएको विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एनआरएनएलाई समग्र नेपाली डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एनआरएनएलाई विधि सम्मत रूपमा सञ्चालन हुन आग्रह गर्दै अहिलेको विश्व विधिको युग भएकाले विधि तोडेर जानु स्वेच्छाचारिता हुने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘विधिसम्मत ढंगले तपाईंहरु चल्नुस् । यो विधिको दुनियाँ हो । विधिको जमाना हो । विधि तोडेर यस जमानामा अगाडि जान्छु भन्नेकुरा यो त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन । राम्रा निष्कर्ष निस्किउन् । यस संस्थाको अस्तित्व रक्षाका लागि यस कन्क्लेभले निष्कर्ष निकालोस् । यस संस्थालाई पोल्टिकल पार्टीका जनवर्गीय संगठन बन्नबाट बचाउनका लागि, यस संस्थालाई अरु कसैको बेनिफिटका लागि प्रयोग हुनेकुराबाट जोगाएर समग्र नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाको रुपमा अघि बढाउन तपाईंहरु सफल हुनुस् । त्यसका लागि युनिटीमा जोड दिने हो, विधिमा जोड दिने हो । विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ । नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ ।’
प्रधानमन्त्री ओलीले एनआरएनएलाई राजनीतिक दलहरूको जनवर्गीय संगठन बन्नबाट जोगाउन आग्रह गरे। उनले एनआरएनएले विधि अनुसार गरेका काममा सरकारको सधैँ साथ रहने बताए। उनले एनआरएनएलाई कसैको व्यक्तिगत वा दलीय स्वार्थमा प्रयोग हुनबाट बचाएर देशको हितमा काम गर्ने संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।