माओवादी सांसदको प्रश्न: पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै, यो कस्तो सुशासन ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
764
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरेको विषयमा गम्भीर आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँगै सार्वजनिक कार्यक्रममा सहभागी भइरहेको तर प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाए।
प्रदेश सांसद पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा विशिष्ट अतिथिको रूपमा सहभागी थिए। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए। राजनीतिक पहुँचकै कारण पक्राउ पुर्जी जारी भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले भने, "जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पुर्जी जारी भएको आफ्नै पार्टीको सांसद छन्। प्रहरी प्रशासन जाँदाखेरी भेट नभएको भन्ने रिपोर्ट आउँछ। प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन्। सुशासनको कुन चाहिँ नमुना हो यो?"
उनले गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको भन्दै त्यस विषयमा आम नागरिकले नियालिरहेको बताए। "अर्को कुरा, गभर्नर नियुक्तिको सवालमा संसारले देख्ने गरी, इतिहासलाई नै ब्रेक गर्ने गरी रिक्त रहेको अहिलेको अवस्था छ। यो विषयमा के हुनुपर्ने हो के भइरहेको छ दुनियाँको अगाडि छर्लङ्ग छ," उनले थपे।