arrow

मुस्लिम नवविवाहित महिलाको दाइजोको नाममा हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
killed-rautahat-muslim.jpg

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक जना मुस्लिम नवविवाहित महिलाको शंकास्पद मृत्यु भएको छ। उनको माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गरेको छ । 

कटहरिया ३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया  ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटकी श्रीमती २१ वर्षीया सानिया प्रविनको शंकास्पद मृत्यु भएको हो । 

आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

मृतकको पोष्टमार्टम भएर शव सत्गतको लागि मृतक सानियाकी आमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौली घर भएकी कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।

मृतककी आमा कायमा खातुनका अनुसार सानियाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो।

 विवाहपछि ज्वाईँ अरमानले निरन्तर दाइजोको लागि छोरी सानियालाई अनेक प्रकारले शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । 
 
ज्वाइँ तथा उनको परिवारले दिनेगरेको यातना सहन गर्न नसकेकोले उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्यागरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन् ।

घटनामा संलग्न अरमान सहित सबैलाई पक्राउ गरी कडा कानूनी कारबाही हुनुपर्ने सानियाको माइती पक्षले माग गरेको छ। माइती पक्षले छोरीको 
हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटना विरुद्धको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद भएको न्यूजकारखानालाई संकेत दिएका छन्।

 उनले घटनाको अनुसन्धान पछिमात्र यकिन साथ भन्नसक्ने अथवा कानूनी प्रक्रिया अगाडि बढाइने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ