अर्थविद् विश्व पौडेल गभर्नर बन्ने पक्का, दिए छनोट समितिबाट राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । अर्थविद् डा विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लगभग पक्का भएको छ । उनी गभर्नर बन्ने भएसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित गभर्नर छनोट सिफारिस समितिको विज्ञ सदस्यबाट राजीनामा दिएका छन् ।
पौडेललाई राष्ट्र बैंक ऐनअनुसार सरकारले गत फागुन २२ गते अर्थमन्त्री पौडेलको अध्यक्षतामा गठन गरेको गभर्नर छनोट सिफारिस समितिको विज्ञ सदस्यका रुपमा चयन गरिएको थियो । अर्थमन्त्री पौडेलको सचिवालयले आइतबार बेलुकी विज्ञ सदस्यबाट विश्व पौडेलले राजीनामा दिएको बताएको हो ।
उनलाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएसँगै त्यसको तयारी भएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त पौडेल योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी काठमाडौँ विश्व विद्याविद्यायलका प्राध्यापक हुन् । उनीसँग अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ ।
को थिए यसअघिका दावेदार ?
महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गभर्नर को बनाउने भन्नेमा रस्साकस्सी चल्यो । महत्वपूर्ण पदमा कांग्रेस र एमालेबीच भागबण्डा चलिरहँदा अन्य आधा दर्जन जति आर्थिक क्षेत्रसँग सम्बन्धित पद एमालेले पाइसकेको अवस्थामा गभर्नर छनोट गर्ने जिम्मा कांग्रेसको भागमा आइलाग्यो ।
कांग्रेसले उक्त भाग नपाउन्जेल प्रधानमन्त्री ओलीले कायम मुकायम गभर्नर डा. निलम तिमल्सिना ढुंगानालाई नै गभर्नर बनाउने तयारी गर्दै थिए । उनले मुलुकले पहिलो पटक महिला गभर्नर पाउने बताएका थिए । निलम एमाले निकट हुन् ।
तर कांग्रेसले भाग पाउने भएसँगै कांग्रेस सभापति देउवाले आफूनिकट राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई १८औँ गभर्नर बनाउने चाहन्थे ।
सोही अनुसार गुणाकरले निर्देशकबाट राजीनामा दिए । तर कामु गभर्नर निलमले राजीनामा स्वीकृत नगरी अड्काएर राखिदिइन् ।
तब कांग्रेसले अर्का विज्ञलाई खडा गर्यो । उनी हुन् विश्व पौडेल । पौडेल बाहेक अरु पनि थिए आकांक्षी । तर जब देउवाले विश्वलाई देखे तब उनको नाम नै अगाडि सारियो । यो नाम एमालेका लागि पनि लोकप्रिय नै हो ।
के छ विश्व पौडेलमा खास ?
उनी अनुभवी अर्थविद् हुन् । योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । साथै विदेशी संस्था आईएलओका पूर्व आर्थिक सल्लाहकार हुन् । अर्थ मन्त्रालयका पनि पूर्व सल्लाहकार हुन् । साथै उनी प्राध्यापक हुन् ।
उनलाई कांग्रेसी कोटाबाटै २०७८ साउनमा योजना आयोगको उपाध्यक्ष बनाइएको थियो । कांग्रेसले उनलाई कहीँ कतैबाट पनि गुमाउन नचाहने भएकाले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट टिकटसमेत दिएको थियो ।
उनी पराजित भए । उनी कांग्रेसको उम्मेदवार भए पनि कांग्रेसको कुनै पनि समितिमा बसेर काम भने गरेका छैनन् ।
पार्टीले स्वतन्त्र व्यक्तिलाईसमेत टिकट दिन सक्ने भएकाले पनि गभर्नर बन्न उनलाई कुनै ऐनले नरोक्ने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘जुनसुकै पार्टीले कुनै विषयको एक्सपर्टलाई टिकट दिन सक्छ । त्यो सामान्य हो । डा पौडेल गभर्नर बन्नका लागि कांग्रेसले दिएको टिकटले रोक्छ भन्ने मलाई लाग्दैन ।
उनको काम मुलुकलाई कसरी आर्थिक चलायमान बनाउन सकिन्छ भन्ने हो । त्यसैले उनले अर्थ मन्त्रालयमा आउने जो सुकै दलका मन्त्रीलाई पनि सघाउँदै आएको बुझिएको छ ।
अहिलेको सरकार कांग्रेस र एमालेको छ । प्रायः अर्थमन्त्री र गभर्नरबीच तालमेल नमिल्दा आर्थिक सूचकांकहरु तलमाथि पर्दै आएका छन् ।
तर विश्व पौडेल गभर्नर हुँदा एमालेलाई कुनै फरक नपर्ने स्रोत बताउँछ । किनकि मन्त्री पौडेललेसमेत विज्ञ पौडेलबाट सुझाव लिइरहेका हुन्छन् ।
विश्व पौडेलले देशको आर्थिक उन्नतिका लागि जोसुकैलाई पनि सही सुझाव र सल्लाह दिने भएकाले भोलिका दिनमा अन्य दलका अर्थमन्त्री हुँदासमेत सहजीकरणमा सजिलो हुने उनी निकटकाहरु बताउँछन् ।