arrow

ओली, 'स्टन्ट' र चौरासी 

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ वैशाख २७ शनिबार
rajendra-panthi-82-1-27.jpg

अहिले नेपाली राजनीतिमा अंग्रेजी शब्द 'स्टन्ट' निकै प्रयोग भएको देखिन्छ । यो शब्दको प्रयोगको इतिहासलाई नियाल्दा पनि सन् १८३० पछि विकासलाई बाधा पुर्याउने सन्दर्भमा वा कसैलाई होच्याउने सन्दर्भमा अलि बढी प्रयोग हुँदै आएको देखिन्छ ।

१९ औँ शताब्दीमा यो शब्दको प्रयोग सर्कस,चलचित्र र साहसिक खेलको सन्दर्भमा प्रयोग गरिएको थियो।२० औँ शताब्दीपछि नाटक,चलचित्र राजनीति र सञ्चार आदि विभिन्न क्षेत्रमा प्रयोग हुँदै आएको छ।

वास्तवमा स्टन्ट भनेको सर्कसमा जादूगरले दर्शकको मनोरञ्जन लागि प्रदर्शन गरिने कला वा साहसिक सीपलाई भनिन्छ । स्टन्ट भनेको प्रचारमुखी सामग्री पनि हो । यसमा दर्शकको ध्यान आकर्षण गरिन्छ । यो प्रदर्शन केवल मनोरञ्जनको लागि गरिन्छ । स्टन्ट रोमाञ्चक हुन्छ र यसले दर्शकको ध्यान खिच्छ । चलचित्र र नाटकमा स्टन्टको प्रयोग निकै हुन्छ । स्टन्टमा घटना सत्य हुन्छ,तर त्यो क्षणिक मात्र हुन्छ।केवल मनोरञ्जनको लागि स्टन्ट गरिएको हुन्छ।

नेपाली राजनीतिमा विगत केही वर्षदेखि स्टन्टले प्रभुत्व जमाउँदै गएको छ। नेतादेखि लिएर प्रधानमन्त्रीसम्मले काम नगर्ने र  केवल स्टन्ट देखाइरहने गरेका छन्।नीतिको पनि नीति मानिने राजनीति केवल स्टन्टमामात्र सीमित हुन पुगेको छ। राजनीतिलाई केवल ठगी खाने भाँडो बनाइएको छ ।

राजनीतिक नेतृत्वमा विचारको स्खलन भएको देखिन्छ। नेतृत्वमा देश र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्वबोध भन्ने  छँदैछैन । राजनीति केवल स्टन्टबाजीमा रमाइरहेको छ ।

नेपालको राजनीति सर्कसमा देखाइने जादूगरी जस्तो बनिरहेको छ। नेपाली जनतालाई भ्रममा पारेर र केवल स्टन्टमात्र देखाएर लोकतन्त्र नेतातन्त्रमा परिणत भएको  छ । बहुदल प्राप्तिको ३५ वर्ष बितिसक्दा पनि राजनीतिक नेतृत्व जनताको जीवनस्तर सुधार्न र देशलाई उन्नत बनाउन संवेदनशील हुन सकेकै छैनन् ।

केवल तीन जना नेता र तिनका केही चौघेराले  राज्यसत्तालाई चरम दुरुपयोग गरिरहेका छन् । राज्यसत्तालाई बन्धक पारेर गणतन्त्रलाई नै सङ्कटमा पार्दैछन् । राजनीतिक नेतृत्व केवल सत्ताको हिसाबकिताब र जोडघटाउ गर्दै स्टन्टबाजीमै लिप्त देखिन्छ ।

देशको विकास कसरी गर्ने भन्ने बारेमा नेतृत्वमा चिन्तन र चिन्ता नै छैन । देशका प्रधानमन्त्री र मन्त्रीहरू बक्म्फुस गफ र स्टन्ट गर्दै हिँड्छ्न् । सरकारलाई सर्कसमा राखिएको खेलौना जस्तो कहिले कसको हातमा कहिले कसको हातमा फेरबदल गरिरहेका छन् । 

राजनीतिक नेतृत्वमा देश र जनताका समस्याका बारेमा सोच नै छैन । पटकपटक प्रयोग भएर अक्षम प्रमाणित भएकाहरू सत्ता सञ्चालन गरिरहेका छन् । आफ्नो र्याल र सिँगान स्याहार्न नसक्ने व्यक्तिहरू दशकौँदेखि सत्ताको चास्नीमा डुबुल्की मारिरहेका छन् । 

राजनीतिमा विचार, आस्था र चिन्तन भन्ने नै छैन । राजनीतिक दलको नाम जेसुकै राखे पनि वा नामको पछाडि जेसुकै वादको पुच्छर झुन्डाए पनि तिनीहरुको विचार र व्यवहारमा कुनै फरक छैन । के कांग्रेस, के कम्युनिष्ट, के दक्षिणपन्थी, के वामपन्थी, के राजावादी यिनीहरूको कार्यशैली र सोचमा फरकपन नै छैन । 

सत्ताको हिसाबकिताबमा कुरा मिल्दा मुटु जोड्छ्न् अनि कुरो नमिल्दा एकअर्कालाई तथानाम गाली गरेर राजनीतिक अश्लीलताको पराकाष्ठा प्रदर्शन गर्छन् अनि अरूलाई भने सभ्य र शिष्ट भाषा बोल्नुपर्छ भनेर सम्झाउँछन् ।

नेपालको राजनीति भन्ने त  केवल सत्ता र चुनावका लागि सीमित भइरहेको छ ।  यसकारण पनि यी अहिलेका राजनीतिक दलहररूप्रति नेपाली जनतामा विश्वास र सम्मान भन्ने नै छैन । सोसियल मिडियामा पढ्न नसकिने गालीका वर्षा बर्सिरहेका हुन्छन् । तर पनि नेतृत्व कान र आँखा बन्द गरेर बसिरहेका देखिन्छन् । राजनीतिक नेतृत्वको कमजोरीकै कारण आज कतिपय कलाकार र चलचित्र उद्योगले सजाय भोग्न परेको छ । 

जनता चरम निराशामा छन् । जनताका निराशा र आक्रोशलाई बुझ्ने र ग्रहण गर्ने समाधानको उपाय खोज्ने भन्नेमा वर्तमान सरकार मौन देखिन्छ । अहिलेका प्रधानमन्त्री र मन्त्रीहरूमा देशको विकास कसरी गर्न सकिन्छ भन्ने ज्ञान, सोच र सामर्थ्य नै देखिँदैन । 

प्रधानमन्त्री आफ्ना कार्यकर्तालाई उचालेर सडकमा रमिता देखाउन व्यस्त छन् । ओलीमा केवल गफाडीपन मात्र देखिन्छ । मान्छेले आफूसँग जे क्षमता छ त्यही देखाउने हो । अहिलेको नेतृत्वमा ढाँट्ने, छलकपट गर्ने, जोड्नेभन्दा भत्काउने खेल खेल्नेजस्ता प्रवृत्तिहरू मात्र छन् । नेताहरू सिंहदरबारभित्र बसेर देशको स्तर कसरी उकास्न सकिन्छ र जनताको अवस्थामा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने ज्ञान र सोच नै नभएकै कारण बाहिर सडकमा आएर स्टन्ट देखाइरहेका हुन्छन् ।

यिनीहरूमा न विश्वविद्यालयीय योग्यता छ न सम्बन्धित विषयको अध्ययन नै छ न त गतिलो अनुभव । यस्तो बकम्फुसे मस्तिष्कले देश कसरी चल्न सक्छ र ? अहँ, कहिल्यै सक्दैन । कुनै व्यक्तिले दशकौँ पहिले योगदान दिएको थियो भन्ने आधारमा उसैलाई बाँचुञ्जेल पद चाहिने प्रवृत्तिले पनि नेपालको समृद्धि हुन नसकेको हो ।

संसारकै उदाहरण हेर्दा पनि युगयुगमा कुनै पनि देश बन्नलाई नयाँ व्यक्ति जन्मिएकै देखिन्छन् । तर हाम्रो देशमा पुरानाले नयाँ जन्मिन दिएकै छैनन् । यहाँ नयाँलाई अवसर नै दिएका छैनन् । हजुरबुबाका पालादेखि नातिका पालासम्म एउटै व्यक्ति नेतृत्वमा घुमिरहेका देखिन्छन् । 

यहाँका दललाई जतिसुकै लोकतान्त्रिक भनिए पनि दलभित्र लोकतान्त्रिक अभ्यास नै छैन । नेपालको सत्ता र शक्तिमा केवल देउवा,ओली र प्रचण्ड बारम्बार दोहोरिरहेका राजनीतिक खेलाडी हुन् । यिनीहरूलाई राजनीतिबाट बिदाई नगरेसम्म यो मुलुकले राजनीति स्थिरता र निकास पाउनै सक्दैन अनि देश पनि बन्न सक्दैन ।

आज हेरौँ न-चौथो पटक ओली प्रधानमन्त्री हुँदा देशले के पाइरहेको छ ? उही उखाने गफ मात्रै हुन् । अनि ओलीपछि देउवा आएर देशले के पाउनेछ ? केही पनि पाउने छैन । न अहिलेको अनुहार राम्रो छ न आउने अनुहार राम्रो देखिन्छ । यस्तो अवस्थामा जनता निराश नबनेर के बन्ने ?

नेपाली जनताको अहिलेको आक्रोश भनेको व्यवस्थाप्रति होइन,अहिलेको नेतृत्वप्रति नै हो । नेतृत्वको खराबीका कारण जनता वाक्कदिक्क भएर व्यवस्थालाई हुत्याए यी खराब नेता जान्थे कि भन्ने अवस्थामा पुगेका हुन् । 

तर यो कुरा न पुरानाले सुन्छ्न् नत नयाँले नै । जनताले यिनीहरूलाई  थोरै पनि आशा र विश्वास गर्ने ठाउँ केही पनि छैन । दलभित्रका नयाँ र युवा भनिएकाहरू पनि भित्र बोल्नै नसक्ने अनि बाहिर आएर यसरी र उसरी लाख लाख कमाउन सकिन्छ  भन्दै अर्कालाई आरोप लगाएर स्टन्ट गर्दै उम्किरहेका छन् ।

नेपालका मुख्य राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्र क्रमशः देउवा, ओली र प्रचण्डका प्राइभेट कम्पनीजस्ता बनेका छन् । कुनैमा बावाद, कुनैमा भाउजूवाद र कुनैमा आफन्तवाद मात्र हावी भैरहेका छन् ।

देशमा वर्षैाँदेखि भ्रष्टाचार र विकृतिले जरा फैलाएका र हाँगा  मौलाएका छन् । देशका आर्थिक सूचकहरू अत्यन्तै दयनीय छन् । प्रतिफल बिना देशको सार्वजनिक ऋण बढेको बढ्यै छ । राज्यका अङ्गहरू प्रायःनिष्क्रिय नै देखिन्छन् । 

दिनदिनै एकपछि अर्को  भ्रष्टाचारका काण्डैकाण्ड सुनिन्छ्न् । प्रधानमन्त्रीलाई देशमा सुशासन कसरी हुनसक्छ भन्ने कुरा र जनताका आवाज सुन्ने फुर्सद छैन । उनलाई सरकार आज ढल्छ कि भोलि ढल्छ भन्ने चिन्तामात्र छ । 

प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीलाई सत्तोसराप गर्दै आफ्ना कार्यकर्तालाई बकम्फुस गफ, उखान टुक्का, मनोरञ्जन अनि ऐयारी, जासुसी र तिलस्मी कथाहरू सुनाएर दैनिकी बिताइरहेका छन् ।

वास्तवमा नेपाली राजनीतिमा सबैभन्दा स्टन्टबाजी गर्ने राजनीतिक पात्र भनेका ओली नै देखिन्छन् । जनतालाई भ्रममा पार्न यति चतुर र खप्पिस छन् कि यिनले नजानेको भन्ने विषय केही पनि छैन । समुदाय र दर्शकको माहौल अनुसार यिनले जस्तोसुकै स्टन्ट प्रदर्शन  गर्छन् । यिनी अत्यन्तै नौटंकी छ्न् । यिनले आफ्नो राजनीतिक मुकुण्डो परिवर्तन गरी कहिले राष्ट्रवादी, कहिले विकासवादी र कहिले बावादी बनेर स्टन्ट गरिरहेका हुन्छन् ।

यिनले स्टन्टमा त जनतालाई नदिएको र नपुर्याएको भन्ने केही नै छैन । ओलीले स्टन्टमा घरघरमा ग्याँस पाइप ल्याए । पूर्वपश्चिम रेल पनि चलाए । पानीजहाज पनि चलाए । कम्युनिष्टलाई एउटै बनाएर आफैँ जेट प्लेनको पाइलट पनि भए । अनि सुशासन र संविधान संशोधन गर्न भनी बनेको वर्तमान कार्यकालमा पनि सबै गरिसके । भर्खरै ओलीकै कार्यकर्ता काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले एक सार्वजनिक कार्यक्रममा आफ्नै मेयरलाई व्यङ्ग्य गर्दै स्टन्टले देश बन्दैन भनेर भने पनि त्यो व्यङ्ग्य वास्तवमा ओलीको कार्यशैलीमा अत्यन्तै मेल खान गएको देखिन्छ । 

सुनिताले बालेनलाई हैन आफ्नै दलका अध्यक्षलाई स्टन्टले देश चल्न सक्दैन र बन्दैन भनेर भन्नुपर्छ । स्टन्ट र गफले देश कहिल्यै बन्दैन । देश बनाउन सपना, योजना र काम नै चाहिन्छ ।

अहिले प्रधानमन्त्री ओली मिशन चौरासी भन्दै अर्को स्टन्ट देखाइरहेका छन् । उनको यो स्टन्टले पनि देश चल्दैन र बन्दैन । यो स्टन्टले त झन् नयाँपुस्तामा थप आक्रोश पैदा गरेको देखिएको छ । 

प्रधानमन्त्रीकै कुर्सीमा बसेर उनी चौरासी भनिरहेका छन् । उनलाई देश बनाउन अहिले नै कसले रोकेको छ रचौरासीसम्म नै पर्खनु पर्ने ? सरकारमा बस्नेले नै अहिले चलिरहेको बयासीमा चौरासी भन्न लाज लाग्नु पर्ने हैन र ? 

फेरि पनि जनताले उही उधारो राजनीतिमा विश्वास गरिरहनु पर्ने ? कुर्सीमा बसेकै मान्छेले अहिले सकिन अर्कोपटक सक्छु भनेर विश्वास गर्ने आधार नै छैन । ओलीले म बिना एमाले कल्पना गर्न पनि हुन्न भनेर निर्लज्ज भनिरहेका छन् । उनी जति जति यसैगरी चौरासी भन्दै उफ्रिरहन्छन् त्यति त्यति एमाले कमजोर हुँदै जाने देखिन्छ ।

अनि नेपाली  युवाहरूमा रिस र आवेग अझै बढ्दै जाने देखिन्छ । अब नेपाली जनतामा असन्तुष्ट र आक्रोश नियन्त्रण बाहिर जान थालेको देखिन्छ । जनतामा देखिएको निराशा र असन्तुष्टले गर्दा व्यवस्थामाथि खतरा देखिँदैछ ।

अब ओलीले हिन्दु परम्परामा बयासी वर्षपछि गर्न मिल्ने चौरासी पूजा गरेजस्तै यही बयासी सालमा आफ्नो राजनीतिक चौरासी गरे सर्वोपयुक्त विकल्प हुने देखिन्छ । ओलीको मात्र कहाँ हो र यसपछि ज्योतिषी हेराएर बसेका देउवा र कतै जादूगरी गर्न सकिन्छ कि भनेर मौका कुरेर बसेका प्रचण्डले पनि जतिसक्दो चाँडो राजनीतिक रुपमा चौरासी गर्नुपर्छ । 

अब जनताहरू कुनै किसिमको आश्वासन र स्टन्टमा विश्वास गर्ने र पर्खने पक्षमा देखिँदैनन् । अब विभिन्न दलमा रहेका युवा नेतृत्वहरूले पनि भोलिको लागि राजनीतिक विश्वास जित्ने हो र यही व्यवस्थालाई जोगाइ राख्ने हो भने चौरासी नभनी अहिले नै दलभित्र विद्रोह नै गरी नेतृत्व सम्हाल्न तयार हुनुपर्छ । 

अब देउवा वा प्रचण्डको अनुहार देखाएर अहिलेको आक्रोश रोकिँदैन र समस्याको समाधान पनि हुँदैन।अबको विकल्प भनेको कांग्रेस,एमाले र माओवादीमा रहेका युवा नेतृत्वहरू सच्चिएर भोलि नभनी आज नै नेतृत्व सम्हाल्न आउनुपर्छ र यो राजनीतिक अस्थिरतालाई अन्त्य गर्नुपर्छ र लोकतान्त्रिक  गणतन्त्रलाई थप बलियो बनाउनु पर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ