पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा हरिप्रसाद पाठकले करिब पाँच महिनामै पदबाट राजीनामा दिएका छन् ।
पाठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष इमेलमार्फत राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत भए, नभएको भन्ने बारेमा आफू अनविज्ञ रहेको पाठकले बताएका छन् ।
पाठकले आफूले इमेलमार्फत् भीसी कार्यालयमा राजीनामा पठाएको तर मिति भने यकिन नभएको बताए । आफ्नो नितान्त निजी र घरायसी कारणले राजीनामा दिएको उनले स्पष्ट पारे । पाठक गत माघ २ गते क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।
प्राडा पाठक पृथ्वीनारायण क्याम्पसमा २०५१ देखि प्राध्यापनरत थिए । उनले त्रिविमा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन् । ताप्लेजुङको सिनाममा जन्मिएका पाठक हाल पोखरा-५ मा बसोबास गर्दै आएका छन् ।
त्रिविको क्याम्पस प्रमुख छनोट समितिको सर्टलिष्टमा दाबी गर्नेमध्ये पाठकसँगै प्राडा टंकराज अधिकारी, सहप्राडा वीरबहादुर कार्की, प्रा. लालबहादुर कुँवर र प्राडा शोभाकान्त लामिछाने पनि थिए ।
क्याम्पस प्रमुख नियुक्त भएको ६ महिनाभित्रै पद रिक्त भए सर्टलिष्टमा परेकामध्येबाट वरियताका आधारमा नयाँ क्याम्पस नियुक्त गर्ने व्यवस्था छ ।
यो व्यवस्थाका आधारमा कसलाई क्याम्पस प्रमुख नियुक्त भन्ने विषय विश्वविद्यालयको कार्यपरिषद्को निर्णयमा भर पर्नेछ ।
क्याम्पस प्रमुख नियुक्तिमा लोकसेवा आयोगको नियमावली टेक्न नपर्ने र वैकल्पिक उम्मेद्वार नहुने भएकाले विश्वविद्यालयको कार्यपरिषद्को निर्णय नै अन्तिम हुनेछ ।