एन्फा साधारण सभामा गणेश थापालाई प्रवेश निषेध, धुलिखेलमा तनाव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
775
Shares
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रबार धुलिखेलमा विवाद उत्पन्न भएको छ । थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ ।
साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टङ्कलाल घिसिङले गरे । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । यससँगै उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताए । उनले अदालतको आदेश मान्दिन भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गरे ।
उनले भने, “कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो, कि साधारणसभामा प्रवेश दिनुपर्यो, नत्र रोकेर राख्न मिल्छ ? हिजो अन्तरिम आदेश दियो, मलाई र गौरव थापालाई साधारण सभामा नरोक्नु भनेर । एन्फाको तर्फबाट मेरो खारेजी गर्न अध्यक्षजी स्वयं आउनुभयो । बहस भयो तर खारेजी भएन तर अहिले उनहरू छिर्न दिनुहुन्न मलाई ।”
थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार उन साधारणसभामा सहभागी हुन पुग्नुभएको थियो ।
तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गरेका छन् ।
उनले भने, “अफिसियल्ली हिसाबले निर्णय भन्नुभएको छ । त्यो सचिवालयलाई थाहा होला, हामीलाई थाहा छैन । हामीले बुझ्नुपर्ने कुरा के हो भने, एन्फामा अहिले २५–३० वटा मुद्दा छन् । कुन आदेश सचिवालयमा आयो÷आएन भन्ने जानकारी सचिवालयबाट आउनुपर्छ ।”
सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लङ्घनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो । सो निलम्बन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो । प्रतिबन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन् ।