arrow

खेलकुद पत्रकार मञ्चमा अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
nsjf-2082-1-25.jpg

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी प्रकाश तिमल्सिनालाई पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् । 

अधिकारीले ४५ मत ल्याउँदा तिमल्सिनाले ३५ मत ल्याए । दुवै जना काभ्रेली हुन् । तिमल्सिनाले तेस्रो प्रयासमा पनि सफलता हासिल गर्न सकेनन् । उनी यसअघि महासचिवबाट अध्यक्षका लागि लडेका हुन् । अधिकारी निवर्तमान प्रथम उपाध्यक्ष हुन् । 

त्यस्तै प्रथम उपाध्यक्षमा प्रज्वल ओली तथा उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार निर्विरोध निर्वाचित भए । ‌ओली यसअघि दुई कार्यकाल महासचिव खाए । रेग्मी र शिल्पकार यसअघि पनि उपाध्यक्ष थिए ।

महासचिवमा राजु घिसिङलाई पराजित गर्दै अञ्जन खड्का निर्वाचित भए । खड्काले ५१ मत प्राप्त गर्दा घिसिङले २९ मत मात्र पाए । खड्का निवर्तमान सचिव हुन् भने घिसिङ पूर्व सचिव हुन् ।

सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए । उनले ५१ मत र उनका प्रतिस्पर्धी गोविन्दराज नेपालले २८ मत पाए । 

महिला सदस्यमा नमिता दाहाल निर्विरोध भइन् । 

अन्य तीन सदस्यमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भएका छन् ।

सुवेदीले ५७, कविरसले ५४ र जोशीले ३९ मत पाए । यो कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र दिए । 

मुख्य निर्वाचन अधिकृत दाहालकै नेतृत्वमा तीन सदस्यीय समितिले निर्वाचन गराएको हो । अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले खेलकुद पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन अघिल्ला समितिले गरेको रचनात्मक कार्यक्रमलाई थप बढावा दिने प्रतिबद्धता व्यक्त गरे ।

सो निर्वाचनअगाडि बन्द सत्रले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यबहाक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।

त्यसअघि उक्त साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा नेपाल खेलकुद पत्रकार मञ्चको भूमिका अहम् रहँदै आएको बताए ।

मञ्चको एक कार्यकाल तीन वर्षको हुनेछ । यसअघि लगातार दुई पटक दुर्गानाथ सुवेदी अध्यक्ष भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ