विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण [भिडियो]
सिङ्गो विपद्को क्षेत्रलाई बिमाको दायरामा ल्याउन आवश्यक: कार्यकारी प्रमुख भट्ट
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
638
Shares
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनको सचेतना जगाउन मुख्य मुख्य पाँच भाषामा सन्देशहरू निर्माण गर्ने बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित तातो हावाको लहर ‘लू’ को प्रभाव र पूर्व तयारी विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
उनले जुन ठाउँमा कर्मचारी कार्यरत हुन्छ त्यहीँ त्यहीँ ठाउँमा विपद् व्यवस्थापन पूर्व तयारीका सन्देशहरू प्रवाह गर्न निर्देशन दिए । उनले हाल सामान्य वर्षा भइरहे पनि वर्षा रोकिएको केही दिनमै तातो हावा चल्न सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताए । उनले लूका कारण तराईमा पशुचौपाया मर्ने गरेकोप्रति विशेष ध्यान दिनुपर्ने बताए । पशुचौपाया मर्दा किसानले बिस्तारै पशुपालन छोड्न सक्ने भएकाले किसानको क्षतिपूर्ति र राहतका लागि पशु तथा कृषि बिमाको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले विपद्का सबै क्षेत्रलाई बिमाको दायरामा ल्याउन बीमा कम्पनीहरूसँग सरकारले मध्यस्थता गर्नुपर्ने बताए ।
उनले भने, ‘इन्सोरेन्सको कुरा यस्तो हिट वेबहरू बढ्दै जाँदा हामीले किसानलाई इन्सोरेन्सतिर ल्याउन सकेनौँ भने उनीहरूको खेतीको लस हुने भयो भने बिस्तारै मान्छेले खेती गर्न छोड्ला भन्ने कुरामा पनि हामी चिन्तित हुनुपर्ने जरुरी छ । गाई वस्तु मर्न थाले भने हरेक वर्ष गाई वस्तु गाड्नुपर्ने स्थिति आयो भने त अर्को वर्षदेखि पाल्दैनन् । त्यसो भएको हुनाले कसरी बिमामा ल्याउने हो भन्ने कुरा जरुरी छ । म यो ओभर अल डिजास्टरलाई नै बिमामा ल्याउनुपर्छ केही वर्षभित्र भनेर शुरुमा त बीमा कम्पनीहरू आउन खोज्दैनन् । मिट प्वाइन्ट पनि खोज्नु पर्छ होला त्यो हिसाबले पनि तयारी गर्नुपर्छ र किसानलाई बिमामा ल्याउनुपर्छ । अहिले पानी प¥यो भने केही दिनपछि पानी बन्द हुने बित्तिकै फेरि चार पाँच दिन नर्मल चल्यो भने हिड वेबको कुरा आउँछ । त्यो आउँदै गर्दा हाम्रो केही सामग्रीहरू छन् एनआरामा प्रोेड्युस गरेको अब एउटै कुरा सबैले गर्नु जरुरी छैन, किनभने रिसोर्ससेज कम छन् । एनडी आरआरले गर्दा पनि यहाँहरूसँग सल्लाह गरेर राम्रै गरी बनाएको छ । हामी छिट्टै पाँच वटा भाषामा ट्रान्सलेट गर्छौँ । जसले अलिअलि बुझेको छ उसलाई सन्देश नचाहिएको पनि हुनसक्छ कतिपय ठाउँमा । पहिले नेपालीमा गएकै सन्देशलाई पाँच वटा मुख्य भाषामा परिवर्तन गर्दै छौँ । जसले जहाँ काम गरिरहेको छ त्यस्तले त्यहीँबाट फैलाइ दिनुहोस् । अर्को सबै भाषामा भएका सामग्रीहरूको लाइब्रेरी पनि बनाउँदै छौँ ।’