प्रदीप नेपालको पार्थिव शरीर एमाले कार्यालयमा नराखिने, झण्डा नओढाइने, विद्युतीय शवदाह गृहमा दाहसंस्कार
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २३ मंगलबार
3.2k
Shares
काठमाडौँ । एमाले नेता प्रदीप नेपालको अन्तिम संस्कार सामान्य तरिकाले गरिने भएको छ । उनको इच्छाअनुसार नै उनको दाहसंस्कार सामान्य तरिकाले गरिन लागिएको हो ।
उनको पार्थिव शरीर एमालेको कार्यालयमा लगिने छैन । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको भए पनि उनको परिवारले नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धाञ्जलीका लागि नराखिने अडान राखेपछि यसअघिको निर्णय बदलिएको एमाले नेताहरूले जनाएका छन् ।
सो अनुसार उनको दाहसंस्कार पनि विद्युतीय शवदाहगृहमा साँझ ६ बजे गरिँदैछ ।
उनले यसअघि नै लेखेका थिए कि ‘मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जली कार्यक्रम नराख्नू ।'
केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको आज उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एमालेको पोलिटब्युरो सदस्य रहिसकका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए ।
नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए ।