काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको आज उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एमालेको पोलिटब्युरो सदस्य रहिसकका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए ।
नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए ।
उनले पहिले नै भनेका थिए, "मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जली कार्यक्रम नराख्नू।"