काठमाडौँ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार इजरेली हवाई आक्रमणका कारण १६ जनाको मृत्यु भएको छ, जसमा कम्तीमा तीन जना बालबालिका पनि रहेका छन् ।
नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजा पट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा छ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई वर्षका दुई बालक अल–मावासी क्षेत्रमा रहेको एक अपार्टमेन्टमा रहेका थिए ।
पछिल्लो विवरणअनुसार सोही अल–मावासी क्षेत्रमा एउटा पालमाथि गरिएको आक्रमणमा थप १० जनाको मृत्यु भएको छ, जसमा एक बालक र सात महिला परेका छन् ।
इजरेली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी दिएको छैन । एएफपीले सम्पर्क गर्दा प्रवक्ताले विवरण सङ्कलन भइरहेको जानकारी दिएका थिए ।
सेनाले बिहान जारी गरेको वक्तव्यमा गत दुई दिनको अवधिमा गाजा क्षेत्रमा १०० भन्दा बढी ‘आतङ्ककारी लक्ष्यहरू’ मा आक्रमण गरिएको बताइएको छ । वक्तव्यअनुसार केही हतियार गोदाम फेला पारिएको र केही लडाकुहरूलाई मारिएको दाबी गरिएको छ ।
इजरेलले मार्च १८ बाट दुई महिनाको युद्धविराम पछि पुनः गाजामा सैन्य कारबाही सुरु गरेको हो । यो द्वन्द्व हमासले सन् २०२३ अक्टोबर ७ मा इजरेली भूमिमा गरेको आक्रमणपछि सुरु भएको थियो ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली आक्रमण पुनः सुरु भएदेखि हालसम्म दुई हजार ४३६ जना नागरिकको मृत्यु भइसकेको छ । कुल मृतक सङ्ख्या ५२ हजार ५३५ पुगेको जनाइएको छ ।
इजरेलले हाल गाजामा मानवीय सहायता आपूर्ति रोकिदिएको छ । इजरेली पक्षका अनुसार नाकाबन्दीको उद्देश्य बन्धक मुक्त गर्न दवाब सिर्जना गर्नु हो ।
संयुक्त राष्ट्रसङ्घका निकायहरूले इजरेललाई नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।