भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको चौथो साधारण सभा सम्पन्न [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
2.4k
Shares
काठमाडौँ । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको चौथो साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । देशैभरका भारद्वाज गोत्रीय पोखरेलहरूलाई समेटेर भाइचारा सम्बन्ध स्थापित गर्ने उद्धेष्यले गठित प्रतिष्ठानले वंशावली तयार गर्ने क्रमलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
प्रतिष्ठानका महासचिव रामचन्द्र पोखरेलले बताएअनुसार देशभर रहेका भारद्वाज गोत्रीय पोखरेलको वंशावली डिजिटल र पुस्तकका रूपमा तयार गरिँदैछ ।
वंशावली तयारी क्रम अन्तिम चरणमा पुगेको पनि उनले बताए । बंशावलीमा परिवारको सामूहिक तस्बिर राख्दा १५ हजार रुपैयाँ, जोडीको १० हजार र आफ्नोमात्र तस्बिर राख्दा पाँच हजार रुपैयाँ शुल्क उठाउने निर्णय गरिएको महासचिव पोखरेलले बताए ।
वन्धु वान्धवसँग आपसी समझदारी विकास गरी सामाजिक उत्थानमा योगदान पुर्याउन र आपसी सम्बन्धलाई सुमधुर बनाउन २०७३ साल माघ १३ गते भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान गठन भएको थियो ।
मुनाफारहित जनहितकारी कार्यमा सक्रिय हुनका लागि गठित यो प्रतिष्ठानको मुख्यालय देवघाटधाम चितवनमा रहेको छ ।
महासचिव पोखरेलले देवघाटमा भवन निर्माणसमेत भइरहेको जानकारी दिए । तीन तलाको उक्त भवन ढलानसमेत भइसकेको छ ।
साधारण सभामा यो भवनलाई सम्पन्न गर्नका लागि आर्थिक संकलनलाई तीव्र पारिएकोसमेत पोखरेलले जानकारी दिए ।
उक्त भवनमा आफ्नो परिवारको नाम वा आफ्नो नाम राखेर कोठामा योगदान दिनका लागि प्रति कोठा पाँच लाख रुपैयाँ सहयोग गर्न सकिने भएको छ । यसो गर्दा परिवारका कसैको तस्बिरसमेत राख्न पाइने छ ।
यो भवन निर्माणको उद्धेश्य देशरभका पोखरेललाई देवघाट दर्शन गर्न आउँदा बस्ने र खाने व्यवस्थापन गर्नु रहेको महासचिव पोखरेलले बताए ।
नितान्त समाजसेवाका लागि उक्त भवन निर्माण गरिएको हुनाले भोलिका दिनमा अन्य थरका व्यक्तिहरुलाई पनि सेवा गर्न सकिने उनको भनाइ छ ।
उक्त साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । प्रतिष्ठानले यसअघि चितवनमै साधारण सभा गर्दै आएको भए पनि यसलाई अझ वृहत बनाउने उद्धेष्यले काठमाडौँमा आयोजना गरिएको हो ।
साधारण सभामा प्रतिष्ठानको कार्यसमितिसँगै राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख डा. गोविन्दराज पोखरेल, नेपाली सेनाका पूर्व उपरथी जगदीशचन्द्र पोख्रेल, प्राडा श्रीधर मजगैयाँ, पूर्व सांसद टंक पोखरेल, पेशागत महासंघका उपाध्यक्ष भोला पोखरेल, बैंकर तुलसी पोखरेल, हाइड्रो व्यवसायी जगतबहादुर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानको नयाँ वर्षको क्यालेन्डरसमेत सार्वजनिक गरिएको थियो ।