arrow

भारतबाट दैनिक १५ घण्टा बिजुली आयात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
electricity-line.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स) मार्फत बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो । 

उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।
      
औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । 

प्राधिकरणले मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमासमेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकमा देखिएको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ ।
      
प्राधिकरणले नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अप्ठ्यारो परिस्थितिमा भारत सरकारबाट ६०० मेगावाट विद्युत् आयातको समयावधि थप चार घण्टा बढाइ गरिएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ