रेशम चौधरीलाई भेट्न कारागार पुगे सीके राउत, भने - पार्टी एकीकरण गरेरै छोड्छौँ [भिडियो]
कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
831
Shares
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताएका छन् । बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका उनले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताए । उनले अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले देखाएको बताए । उनले यस्तो व्यवहारर्लाइ परास्त गर्न पनि पार्टी एकता गरेरै छोड्ने बताए ।
उनले भने, ‘कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु त प्रक्रिया नै भएन । दुई चार दिनअघि नै किन जानकारी गरिएन । आज नै पत्र लेखिएको छ, सर्वोच्चबाट । कार्यकर्ताहरू कार्यक्रमका लागि भेला भइसक्नुभएको थियो । यो कस्तो भयो भने हामीले आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नै नहुने, बलियो बन्नै नहुने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो । यसलाई परास्त गर्न भने पनि पार्टी एकीकरण गरेरै छोड्छौँ । हामीमाथि कस्तो खालको दमन भयो, यो जनताले हेरिरहेका छन् । एकीकरणकै दिन घटनास्थलबाटै किन पक्राउ गरियो ? यो धेरै ठूलो प्रश्न वाचक चिन्ह रहनेछ । उनलाई सिधै डिल्लीबजार कारागारमा ल्याइएको छ । आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको छ ।’
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज पार्टी एकता गर्ने कार्यक्रम थियो । प्रज्ञा भवनमा कार्यक्रम शुरु हुनु पहिला नै संरक्षक चौधरीलाई पक्राउ गरेको हो । पक्राउपछि अहिले चौधरीलाई डिल्लीबजार कारागारमा लगिएको छ ।