सडकमा शिक्षकको संख्या घट्दै, संसदमा विषय चर्किदै, सरकार गलाउने नीतिमै [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
693
Shares
काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघको सडक आन्दोलनले २८ दिन पूरा गरेको छ । गत चैत २० गतेदेखि थालिएको आन्दोलन २८ दिनमा पुगे पनि सरकारले माग सम्बोधन गरेको छैन ।
नयाँ शैक्षिक सत्र बैशाख २ गतेदेखि शुरु भए पनि अहिलेसम्म सरकारले आफूमाथि जिम्मेवारी अनुभूति गरेको छैन । त्यसैगरी एसईईको परीक्षा कपी परीक्षणमा एक महिना ढिलाइ हुँदा आगामी असार पहिलो साता नै सार्वजनिक गर्ने भनिएको नतिजामा ढिलाई हुने निश्चित छ ।
त्यस्तै आगामी २१ गतेदेखि हुने भनिएको १२ कक्षाको परीक्षा पनि फेरि सर्ने सम्भावना बढेको छ । यसअघि परीक्षा बैशाख ११ गतेदेखि हुने भनिएको थियो ।
शिक्षक र सरकारबीचको वार्ता अझै सफल हुन नसकेका कारण अन्योल बढेको हो । पछिलल्ला केही दिनदेखि वार्ता निरन्तर भइरहे पनि त्यसले निकास पाउने सकेको छैन ।
महासंघका अध्यक्ष लक्ष्मीविशोर सुवेदीले ‘राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔँ’ भनी अपील गरिरहेका छन् ।
शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म दैनिक तीन घण्टा आन्दोलन गर्दै आएका हुन् । त्यहीँ नै उनीहरुले हाजिर गर्ने गरेका छन् ।
तर पछिल्लो समय भने शिक्षकको संख्या पनि घट्दै गएको छ । २६ औँ दिनमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँगको झडपमा ३१ जना घाइते भएका थिए ।
उक्त दिन घुसपैठ भएपछि उक्त घटना भएको हो । त्यसपछि भने शिक्षक संयमित भएर निषेधित क्षेत्र नतोड्न आग्रह गर्दै आएका छन् ।
सरकार अहिलेसम्म शिक्षकका माग सम्बोधन नगरी गलाउने नीतिमा रहेको देखिन्छ । यता संसदमा सांसदहरुले शिक्षकका माग सम्बोधन गर्न भनिरहेका छन् ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।