अध्यक्ष सुवेदी भन्छन् – राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन, त्यसैले आन्दोलन बलियो गराऔँ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
820
Shares
काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता अझै सफल हुन सकेको छैन । सोमबार राति अबेरसम्म भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने बताएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीविशोर सुवेदीले सोमबार मन्त्रालयमा लामो छलफल चलेको भए पनि निष्कर्षमा पुग्न नसकिएकाले आज पनि आन्दोलन जारी रहने बताएका हुन् ।
आज २८ औँ दिन हो । शिक्षकहरुले दैनिक तीन घण्टा आन्दोलन गर्दै आएका छन् । आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झैँ माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठीक ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔँ ।’
२७ औँ दिन नेकपा एसका नेताहरु गएर आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्ने गरेका छन् ।
शिक्षकहरुले पछिल्लो समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्दै आएका छन् । २६ औँ दिनमा भने शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँगको झडपमा ३१ जना घाइते भएका थिए ।