उद्योग व्यवसायीहरुसँगको छलफल फलदायी – कांग्रेस प्रवक्ता महत
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
2.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीहरुसँगको छलफल निकै फलदायी भएको बताएका छन् । कांग्रेसको उद्योग तथा व्यापार विभागले राजधानीमा आयोजना गरेको उद्योगी व्यापारीहरुसँगको छलफल फलदायी भएको उनले बताएका हुन् ।
आगामी बजेट, कानूनका सन्दर्भमा व्यापारीहरुको राय र अबका दिनमा उद्योग क्षेत्रमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे निर्क्योलमा पुग्ने गरी कांग्रेसले गरेको छलफलले ठोस निष्कर्ष निकाल्न मद्धत गरेको भन्दै प्रवक्ता महतले यस्ता कार्यक्रमहरु निरन्तर गरेर अगाडि बढ्नु पर्ने बताए ।
लगानीको विकल्प नभएको उनले लगानीबाटै आर्थिक वृद्धि गर्नुपर्नेमा जोड दिए । विश्वभरमा सबैभन्दा भरपर्दो लगानीकर्ता नेपाली नै भएको भन्दै महतले धेरै भन्दा धेरै लगानी ल्याउने र सरकारले त्यसलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
आन्तरिक लगानी बढाएरमात्रै छिमेकी राष्ट्रहरुको सहयोग लिनुपर्ने उनले बताए ।
कांग्रेसले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा अबको बजेट कसरी निकाल्न सकिन्छ भनेर निजी क्षेत्रको सहयोग लिएको हो ।
डा महतले उद्योगी व्यवसायीहरुबाट उठेका गहन कुराहरुलाई गम्भीर रुपले अध्ययन गरी अगाडि बढ्ने बताए ।
उनले सरकारले अध्यादेशमार्फत पाँच ओटा विधेयक ल्याउनु राम्रो भएको र यो नै अन्तिम नभएको भन्दै अझ सुधार गरेर अगाडि बढ्नु पर्ने बताए ।
उनले सरकार र निजी क्षेत्र मिलेमात्र मुलुकले आर्थिक सुधार गर्न सक्ने कांग्रेसको निचोड रहेकोसमेत सुनाए । उनले बजेट ल्याउनुअघि नै कांग्रेसले सत्ता गठबन्धनको दल नेकपा एमालेसँग पनि छलफल गर्ने बताए ।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरुसँगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, लगायतका उद्योगी व्यवसायीहरु रहेका थिए ।