'साउथ चाइना सी'मा चीनको कदम, अमेरिकाको गम्भीर चासो
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
1.8k
Shares
काठमाडौँ । चीनले विवादित साउथ चाइना सीस्थित स्यान्डी के नामक एउटा बलौटे ढिस्को आफ्नो नियन्त्रणमा लिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीले चिनियाँ झण्डा बोकेका सैनिकहरूको तस्बिर सार्वजनिक गर्दै चीनले अप्रिल महिनादेखि नै सो क्षेत्रमा "सामुद्रिक नियन्त्रण र सार्वभौम क्षेत्राधिकार लागु गरेको" दाबी गरेको छ। यो क्षेत्र स्प्र्याट्ली टापु समूहमा पर्छ, जहाँ चीन र फिलिपिन्स दुवैले आफ्नो स्वामित्व दाबी गर्दै आएका छन्।
यस घटनापछि फिलिपिन्सले कडा प्रतिक्रिया जनाएको छ। फिलिपिन्सका तटरक्षकहरू पनि उक्त टापुमा पुगेर फिलिपिन्सको राष्ट्रिय झण्डासहित तस्बिर खिचाएका छन्। यद्यपि, फिलिपिनी सुरक्षा फौजको तस्बिर स्यान्डी केमै खिचिएको हो कि अन्यत्र भन्ने स्पष्ट भएको छैन।
वेस्ट फिलिपिन्स सीको राष्ट्रिय कार्यदलले एक विज्ञप्ति जारी गर्दै स्यान्डी केबाट ९१४ मिटर पर चिनियाँ तटरक्षक पानीजहाज र सातवटा सैनिक जहाजको "अवैध उपस्थिति" देखिएको जनाएको छ। विज्ञप्तिमा फिलिपिन्स सरकारले आफ्नो सार्वभौमसत्ता र वेस्ट फिलिपिन्स सीको सार्वभौम अधिकार रक्षाका लागि अटल प्रतिबद्धता देखाएको उल्लेख छ।
साउथ चाइना सीको यो क्षेत्र दुई देशबीच लामो समयदेखि विवादित छ र यसअघि पनि यहाँ झडप तथा जहाजहरू जुधाउने घटनाहरू भएका छन्। फिलिपिन्सको सैन्य चौकी नजिकै रहेको थिटु टापुबाट फिलिपिनी सेनाले चिनियाँ गतिविधिलाई निगरानी गरिरहेको छ।
यद्यपि, करिब २०० वर्गमिटरको उक्त बालुवाको ढिस्को चीनले स्थायी रूपमै कब्जा गर्ने सङ्केत भने देखिएको छैन। पछिल्ला विवरण अनुसार चिनियाँ सैनिकहरू त्यहाँबाट बाहिरिएका छन्।
ह्वाइट हाउसले चीनले विवादित साउथ चाइना सीस्थित चट्टानी क्षेत्र कब्जा गरेको समाचार "सत्य हो भने त्यो गम्भीर चिन्ताको विषय हो" भनेको छ। फाइनान्शल टाइम्सको रिपोर्ट अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जेम्स हिविटले यस्ता कदमले क्षेत्रीय स्थायित्वमा चुनौती दिने र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने टिप्पणी गरेका छन्।
प्रवक्ता हिविटले यस विषयमा ह्वाइट हाउस आफ्ना साझेदारहरूसँग सल्लाह गरिरहेको जानकारी दिएका छन्। अमेरिकाले यस क्षेत्रमा चीनको बढ्दो गतिविधिप्रति निरन्तर चासो व्यक्त गर्दै आएको छ।