पच्चीस दिनदेखि शिक्षक आन्दोलित, सरकारसँग वार्ता, छिट्टै निकास आउनेमा आशावादी
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
1k
Shares
काठमाडौँ । आफ्ना मागहरु लिएर शिक्षकहरु सडक आन्दोलनमा उत्रेको शनिबार २५ दिन भइसकेको छ । तर सरकारले अहिलेसम्म उनीहरुका माग सुनेको छ । वार्ता भने चलिरहेकै छ । यसैबीच शनिबार भएको वार्ता सकारात्मक भएको छ ।
सरकार र नेपाल शिक्षक महासंघबीच छलफललाई निरन्तरता दिने सहमति भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधि बीचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो ।
शनिबार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरुले उठाएका मागहरु पूरा हुनुपर्ने माग शिक्षकहरुले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
उनले शिक्षक महासंघ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषय वस्तुहरु मन्त्री पन्तसँग छलफल भएको बताए । उनले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ । आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा माननीय मन्त्रीज्युको समुपस्थितिमा छलफल भयो । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ ।’
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले शुक्रबार दोस्रो पटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताए । उनले अहिले नै निस्कर्षमा पुगि नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले आफूहरुका माग पूरा गरेको खण्डमा निस्कर्षमा छिटै पुग्ने बताए ।
उनले मुलुकभरका विद्यालय र ७० लाख विद्यार्थी र अभिभावकहरुको जिम्मेवारी पनि शिक्षक महासंघलाई रहेको भन्दै शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभइ गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा होमिएको बताए ।
विद्यालय शिक्षा विधेयक सदनमा प्रवेश गरे लगत्तै आन्दोलन रोक्ने शिक्षकहरुको अडान कायमै रहेको छ ।