काठमाडौँलगायत अन्य जिल्लाका सदरमुकाम आसपासका सरकारी तथा सामुदायिक विद्यालयमा थोरै संख्यामा विद्यालय तहमा विद्यार्थी अझै पनि अध्ययनरत छन् ।
विकट ग्रामिण भेगका केही माध्यमिक विद्यालयमा पनि केही विद्यार्थी अझै बाँकी छन् । तिनै ग्रामिण भेगमा खडा गरिएका अन्य विद्यालयका प्राथमिक तहको पढाई हुने विद्यालयमा विद्यार्थी संख्या न्युन भएको दशकौँ भैसक्यो ।
कक्षा ४ सम्म पढाई हुने केही विद्यालयमा १०-१५ जना, अन्यमा २०-२५ जना र कुनैमा १० जना भन्दा थोरै भएका विद्यालयको संख्या उल्लेख्य रहेको छ। ४ कक्षासम्म सञ्चालनमा रहेका विद्यालमा पढाउने शिक्षकको संख्या थोरैमा ३ जना कर्मचारीसहित ४-५ जना सम्मले रोजगारी पाइरहेका छन् ।
निम्न माध्यमिक विद्यालयमा कर्मचारी सहित १२-१५ जना, माध्यमिक विद्यालयमा लगभग २० देखि २५ जना जति सेवामा छन् ।
हाल नेपालको ग्रामिण भेगमा बस्ने अधिकांशले बाल बच्चा हुर्काएर उनीहरुले केही प्रगति गरेमा गाउँ छोड्ने चाहना राख्दै पर्खिरहेका मानिस, सन्तान हुर्किएर आ-आफ्नो बाटो लागे पश्चात पहिलादेखि बानी परेको स्थान नछोडेका, उमेरले पाका भएका मानिस, केही भने विकल्प नभएका कारण बसोवास गर्दै आएका सीमित मानिस बसोबास गरिरहेका छन् ।
ग्रामिण भेगमा युवापुस्ता प्रायः भेटन कठिन हुँदै गएको छ । अब ग्रामिण भेगमा बसेर कसैले बच्चा पाउला र गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुने अवस्था एकादेशको कथा भैसकेको छ।
विगतदेखि करारमा अध्यापन गरिरहेकाहरुलाई आन्तरिक परीक्षामा समावेश हुने अवसर दिएर धेरै जना स्थायी वा अस्थायी सेवामा छन् ।
केही स्थानीय श्रोतबाट सेवामा रहेकाहरुलाई पनि २-३ हजार रुपैयाँ पारिश्रमिकबाट शुरु भएको सेवा हाल १७-१८ हजार हाराहारी पुगेका व्यक्तिहरु पनि छन् ।
तपाईंहरुले आन्दोलन गर्ने समय ठ्याक्कै मिलाउनु भएको छ भन्ने लाग्छ । अब करिब १० वर्षपछि तपाईंहरुको विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी करिब विद्यालयका कर्मचारीको संख्या बराबर पनि हुने छैनन् ।
यहीबेला सरकारलाई पेलेर आफ्नो माग पूरा नगरे कहिले गर्ने ? तपाईंहरु साँच्चैको शिक्षक हो ? केही महिना अगाडि नै निर्धारण भएको कक्षा १२ को परीक्षाको बारेमा कहिल्यै नसुनेको र परीक्षा जहिले गर्दा पनि हुन्छ भन्ने जस्तो गरी उग्राउँदा लाज मान्नु भएन ।
विद्यार्थी र उनीहरुका अभिभावकहरुका लागि कति महत्वपूर्ण क्षण हो भन्ने बारेमा थोरै पनि हेक्का राख्नु भएन । तपाईंहरु सबैका सन्तानलाई समुद्र कटाइसकेको हुनाले परीक्षाको लागि कुरेर बसेका पाँच लाख १२ हजार हाराहारी विद्यार्थीमाथि अत्याचार गर्दा थोरै पनि लाज नमानेको ? तपाईंहरुको विद्यालयमा कक्षा ११-१२ का विद्यार्थीले पढ्न छोडिसकेको होकि ? विद्यार्थी नै नभएको अवस्था हो ?
हरेक जिल्लाको ग्रामिण भेग आज बाँदर आतंकले जर्जर भएको छ । जंगली जनावरको कारण अवसरमात्र मिलेमा प्रायः मानिस मनभरी पीडा बोकेर बसाईं सर्ने चाहना लिएर दिनहरु कटाउँदै छन् ।
ग्रामिण भेगका प्रायः मानिसको दैनिकी अन्नबाली नष्ट गर्दै गरेको बाँदर धपाउँदै, दुःखी हुँदै रात पर्ने समयको कुराईमा बितिरहेको छ ।
त्यही भेगमा रहेर सरकारले निर्धारण गरेको पारिश्रमिक भत्तालगायत खाएर आन्दोलनका नाममा काठमाडौँका सडकमा बसेर नाक-साक कोट्याउन लाज लाग्दैन ?
माइतीघर, बानेश्वर लगायतका सडकमा दैनिक उफ्रदा पृथ्वीमातालाई दुःख भएको छ भन्ने लाग्दैन ? तपाईंहरुको भन्दा थोरै पारिश्रमिक लिने ती सुरक्षाकर्मी (प्रहरीहरु) ले पनि तपाईंहरुकै जस्तैगरी सेवा अवधि १५ वर्षमा पेन्सन हुनु पर्ने माग राख्दै त्यहीँ आन्दोलन गर्ने ?
तपाईंहरुले राजनीति गर्न पाएको अधिकार विद्यार्थीमा सर्यो भने, पछि देशभर नै कहिल्यै उपचार नहुने भाइरसको रुपमा नेपाली समाजमा रह्यो भने त देश कहिल्यै नसुध्रने गरी ध्वस्त हुने नै भयो ।
प्रधानमन्त्रीले भन्नु भएको जायज कुराको पालना गर्नुस् । कम्तीमा उहाँको पार्टीकाले मान्नुस् । अनि अर्को पार्टीले मान्नुस् । विपक्षीले विरोध गर्ने भए थोरै गर्नुस् ।
समस्या नै हो यदि भने समाधानतर्फ पनि ध्यान जाओस् । तपाईंहरुको मागमध्ये राज्यको ढुकुटीसँग सरोकार नभएको माग चाहिँ पूरा होस् । अब उप्रान्त विद्यार्थी नै नहुने विद्यालयमा बाँदर राखेर पढाउनुस् । शिक्षक आन्दोलन जारी छ ।