arrow

मुस्ताङमा बढे विदेशी पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
mustang-tourist.jpg
फाइल तस्बिर

मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।

विसं २०८० मा कूल ९६ हजार ६ सय ४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार ७ सय ४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिए।

एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३ दशमलव ७१ प्रतिशतले बढी छ ।

गत वर्ष सार्क राष्ट्रबाट एक लाख १७ हजार ६ सय १४ जना र अन्य मुलुकका २७ हजार १ सय ३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार ८ सय ९, जेठमा २८ हजार ८ सय ५६, असारमा आठ हजार १ सय ८७, साउनमा तीन हजार ५ सय ५८, भदौमा छ हजार ६ सय ७९, असोजमा १३ हजार २ सय १६, कात्तिकमा १४ हजार ५ सय ७८ र मङ्सिरमा सात हजार ५ सय ५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छ्न ।

साथै पुसमा छ हजार ९ सय ७५, माघमा तीन हजार ५ सय १७, फागुनमा नौ हजार ३ सय २६ र चैतमा २१ हजार ४ सय ९१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

कार्यालयका अनुसार गत वर्ष कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

कार्यालय प्रमुख गुप्ताका अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् । उनीहरु विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउँछन् ।

एक्याप जोमसोमका अनुसार विसं २०८० सालमा ९६ हजार ६ सय ४५ जना विदेशी पयटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार ५ सय १६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार १ सय २९ थिए ।

केही वर्षयता राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ ।

कार्यालयका अनुसार मुस्ताङ आउने एक चौथाई विदेशी पर्यटक अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै आएका छन् । साथै लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको सख्यामा समेत वृद्धि भइरहेको छ ।

मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने नीलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन् ।

कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका पृथक भूगोल तथा प्राकृतिक सौन्दर्यताका कारण पर्यटक आउने गरेका छन् । यहाँका गुम्बा, माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् ।

उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहासिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा, चिउसी गुफा, लुरी गुम्बा, दामोदरकुण्ड धार्मिकस्थललगायतका पर्यटकीय सम्पदा विद्यमान छन् ।

यस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, कागबेनीधाम, ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा, टिटी ताल र सेकुङ ताललगायतका पर्यटकीय गन्तव्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ