देशमा राजनीतिक अस्थिरता हुँदा पनि मुलुक निर्माणले गति लिन नसकेको उल्लेख गर्दै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक रहेको बताए।
“युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ”, उनले थपे, “युवाको भविष्य सुरक्षित गर्दछ।”
आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिँदै उनले वर्तमान प्रधानमन्त्रीको युवाप्रतिको अगाध स्नेह रहेको बताए।
देश र विकासका पक्षमा उभिएका कारण एमालेमाथि आक्रमण भएको उल्लेख गर्दै उनले भने, “एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम एमाले सरकारमा आएपछि अहिले धमाधम अघि बढेका छन्।”
महासचिव पोखरेलले एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उनले जनताको पक्षमा काम गर्नेमाथि भरोसा गर्न आग्रह गरे।
देशका दुई ठूला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेको र अहिले दुई वटा पार्टी मिलेकाले धेरै ऐनहरू अघि बढाएको हुनाले हरेकले विश्वास र भरोसा गर्न आग्रह गरे।
आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदैछन् भन्ने भ्रमलाई चिरेको भन्दै देशभरका युवा नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनुपर्ने भनाइ उनले राखे।
महासचिव पोखरेलले नेपाल राष्ट्र युवाको राष्ट्र भएका र श्रम गर्नसक्ने लाखौँ लाख युवा नेपालमा भएको उल्लेख गर्दै भने, “कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न अघि बढ्नु पर्छ।”
उनले वैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रकाले जनतासामु घुँडा टेकेको दिन भएको र त्यसैले यो दिनको विशेष महत्व भएको उल्लेख गरे।