उच्च अदालत वीरगञ्जमा सुरक्षा चुनौती, मुख्य न्यायाधीशकै कार्यकक्षमा राखिन् महिलाले अबीर र मुकुट [भिडियो]
कसरी पुगिन् महिला समय अगावै अदालतभित्र ?
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ वैशाख १० बुधबार
994
Shares
वीरगञ्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको कार्यकक्षमा एक महिलाले अबीर र मुकुट राखिदिएपछि अदालतको काम प्रभावित भएको छ।
हाम्राकुरा डटकमलाई प्राप्त सीसीटीभी फुटेजअनुसार बिहान ८:४८ बजे एक महिला काखीमा झोला बोकेर श्रीमानको कार्यकक्षमा प्रवेश गरेको र निस्केको दृश्य देखिन्छ ।
यस कारणले गर्दा आज दिनभरि श्रीमानको 'मुड' खराब भएकोले एउटा निषेधाज्ञाको मुद्दाबाहेक उनले अन्य मुद्दा हेर्न नभ्याएको बताइन्छ ।
उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता शम्मीकपूर शाहले एक डेढ घण्टा जति तनाव भएको बताए । उनले गोला प्रथामा सहभागी भएर फर्कने बेलामा सवा १० बजेतिरमात्र घटनाबारे थाहा पाएको बताए । उनले घटना संवेदनशील भएको भन्दै तत्काल प्रहरीलाई बोलाएर अनुसन्धान थालेको बताए ।
उनले सुरक्षा संवेदनशीलतालाई ख्यालमै राखेर अनुसन्धानलाई तीव्र पारिएको बताए । उनले यो घटनाले सुरक्षा फितलो भएको देखिए पनि कहाँनेर चुक भयो भनी भिडियो हेरेर थप अगाडि बढ्ने बताए ।
आरोपीको खोजी भइरहेको पनि उनले बताए ।
यसैबीच नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुद्दिनले पनि आफू अदालतमा पुगेर मुद्दामा प्रवेश नभइ त्यत्तिकै फर्कनु परेको बताए । उनले भने, 'आफ्नो नागरिकता सम्बन्धी मुद्दा श्रीमानको इजलासमा परेको थियो । त्यसबारे उहाँसँग बुझ्न जाँदा आज अनावश्यक तनाव भयो, अबीर सबिर हालेको छ भाइ, पछि हेरौंला भनी उहाँले भनेपछि फर्किएँ ।'
वीरगञ्जका मेयर राजेशमान सिंहले आफू विरुद्ध दिएको मुद्दामा पर्सा जिल्ला अदालतमा जितेको र अहिले उच्च अदालतमा पुनरावेदन गरेको भए पनि सरकारी वकील र उनको वकीलले मोहलतमाथि मोहलत मागेर दुई वर्षदेखि आफूलाई हैरान बनाएको सहाबुद्दिनको आरोप छ।