जम्मू–कश्मीरमा धर्म सोधेर हिन्दूधर्मीमाथि आतंकवादी हमला, एक नेपालीसहित २७ जनाको हत्या
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
2.1k
Shares
काठमाडौँ । भारतको जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो आतंकवादीले छानीछानी हिन्दू पर्यटकको हत्या गरेका छन् । उक्त हमलामा एक नेपालीसहित २७ पर्यटकको मृत्यु भएको छ । घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ।
यो घटना जम्मू कश्मीरमा सन् २०१९ पछिको ठूलो हताहती हो । सन् २०१९ को फेब्रुअरीमा पुलवामामा आक्रमण हुँदा ४० सैनिक शहीद भएका थिए ।
मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम र धर्म सोधेका थिए । त्यसपछि हिन्दूधर्मावलम्बी उनीहरूमाथि धमाधम गोली हानेर भागेका थिए । आतिवादी आतंकवादी समूह लश्कर ए तैयबाले सो आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिन्दू पर्यटक भएपछि गोली बर्साइएको जनाइएको छ । अर्थात् आतंककारीले छानीछानी पर्यटकको हत्या गरेका हुन् ।
मृत्यु हुनेमा एक नेपाली, एक यूएईका र बाँकी सबै भारतीय हुन् । नेपालीको नाम खुलेको छैन । भारतीय पर्यटकहरुमा दुई स्थानीय तथा बाँकी गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेको खुलेको छ।
आतंककारीहरूले पर्यटकहरू घोडामा सवार हुँदा आक्रमण गरेका थिए । बैसरण उपत्यका घना पाइन वनले घेरिएको छ। यसलाई मिनी स्वीट्जरल्याण्ड भनेर चिनिने गरिन्छ।
पीडितहरूका अनुसार ती आतंककारीको सानो समूहले पहिले पर्यटकको नाम, ठेगाना सोधेका थिए र त्यसपछि धमाधम गोली बर्साउन थाले । त्यसपछि वरपर रहेका अन्य पर्यटकलाई गोली हानेर भागेका थिए ।
सेना र प्रहरीको बर्दीमा रहेका आतंककारीको संख्या तीनदेखि चार जना रहेको बताइएको छ । ती सबैसँग एके–४७ र अन्य हतियारका साथ थिए।
अहिले पूरै क्षेत्रलाई १५ मुख्य बिन्दुबाट घेराबन्दी गरिएको छ। आतंककारीहरुको खोजी गर्न खोजी कुकुर, ड्रोन र हेलिकप्टरको निरन्तर प्रयोग भइरहेको जम्मू काश्मीर प्रहरीले जनाएको छ ।
जसअनुसार सीआरपीएफ, बीएसएफ र सेनासहित जम्मू कश्मीर पुलिसले सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा खोज अभियान शुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सो घटना लगत्तै भारतीय केन्द्रीय गृहमन्त्री अमित शाह त्यहाँको स्थितिको जानकारी लिन श्रीनगर पुगेका छन् । अमित शाहले जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लासँग श्रीनगरमा गएराति नै उच्चस्तरीय बैठक गरेका थिए ।
सो बैठकमा एलजी मनोज सिन्हासहित धेरै पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ। उक्त घटनापछि यूएई गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत भ्रमण छोट्याएर फर्कदै छन् ।