देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
725
Shares
काठमाडौँ । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि वर्षाको सम्भावना कम रहेको महाशाखाले बताएको छ।
यद्यपि, दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।