ऐन निर्माणमा सत्तापक्षले अलमल्याएको प्रतिपक्षीको आरोप [भिडियो]
पानीजहाज तथा जल परिवहनसम्बन्धी ऐन निर्माण
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
473
Shares
काठमाडौं । पानीजहाज तथा जलपरिवहनसम्बन्धी ऐन निर्माणका विषयमा सत्तापक्षका सांसदहरूले अलमल्याउन खोजेको आरोप प्रतिपक्षी सांसदहरूले लगाएका छन् । प्रतिनिधि सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा विपक्षी दलका सांसदहरूले ऐन निर्माणमा समय लिएर छलफल गर्नुपर्ने बताएका छन् भने सत्तापक्षका सांसदहहरुले ऐन पास भए पनि आवश्यक विषय संशोधन गरेर थपघट गर्न सकिने बताएका छन् ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले समितिमा छलफल गरेर पनि पास गर्न नसकिएको प्रावधानहरू नियमावलीमा राख्नुपर्ने बताए । जल परिवहन सञ्चालन सम्बन्धी प्रावधानहरू अध्ययन र छलफल गरेर राम्रो बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘हाम्रा आन्तरिक जलयात्रा, जल परिवहनका कुराहरू गरिरहेका छौँ । त्यसको सञ्चालनका प्रावधानहरू कसरी राम्रा हुन्छन् त ? भन्ने कुरा प्रस्टसँग भन्न सकिन्छ भन्ने कुरा हो । यसमा केही कुरा थप्न सक्छौँ, सकिन्छ भने थपौँ । थप्न नसकिने विषयहरू छन् भने पछि नियमावलीमा राख्छौँ भनौँ के प्रस्टसँग । यहाँ बाङ्गोटिङ्गो कुरा गरेर अलमल पारेर पास गरौँ भन्ने खालको कुरा नगरौँ । जति गर्न सक्छौ यहाँ गरौँ नसकिने जति नियमावलीमा गरौँ, बुझ्दै जान्छौँ गर्दै जान्छौँ भन्ने हो भने सहमति छ । हैन भने यसो उसो भनेको छ समुन्द्रमा चल्ने कुरा ल्याएर त्यस्तो कुराले हुँदैन ।
नेकपा (माओवादी केन्द्र) का सांसद तारामान स्वाँरले अध्यादेशमा दुर्घटनाको प्रकारका बारेमा उल्लेख गर्नुपर्ने बताए । उनले सामान्य दुर्घटनाका लागि ऐनमा पनि सामान्य र गम्भीर खालका दुर्घटनामा त्यसैअनुसार व्यवस्था गर्नुपर्ने बताए । ऐनमा दुर्घटनाका प्रकार र त्यस अनुसार व्यवस्था नगरे गम्भीर परिणाम निम्त्याउने उनको भनाइ छ ।
उनले भने, ‘सामान्य दुर्घटना हुन्छ र त्यसलाई सामान्य रूपमा नै लिनुपर्छ भन्ने खालको सोच राखेर विधेयक बनाउने हो भने यसले चाहिँ गम्भीर परिणाम उठ्न सक्छ । त्यसकारण दुर्घटनाका प्रकारहरू के के हो ? सामान्यलाई सामान्य रूपमा हेरौँ, त्यसका लागि सामान्य व्यवस्था गरौँ । असामान्य दुर्घटनालाई असामान्य खालको व्यवस्था गरौँ । त्यसकारणले दुर्घटनाको प्रकारहरू उल्लेख गर्नु त जरुरी छ ।’
राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले भेइकल ट्राफिक सेवा प्रदानबारे अध्यादेशमा व्यवस्था गर्नुपर्ने बताइन् । उनले जलमार्ग व्यवस्थापनका लागि भेइकल ट्राफिक सेवा अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि अनिवार्य रहेको बताइन् । भेसल ट्राफिक सेवाले जलमार्गको व्यवस्थापन तथा सुरक्षा नियमन तथा कर तथा भन्सार नियमन गर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘भेइकल ट्राफिक सेवा आधुनिक जलमार्ग व्यवस्थापनका लागि अनिवार्य प्रणाली हो । र समुन्द्री सुरक्षाको प्रवर्द्धन, दुर्घटना रोकथाम, जलमार्ग व्यवस्थापन, वातावरण संरक्षण आपत्कालीन सहायताका लागि यो उपयुक्त हुने हुनाले यो भेइकल ट्राफिक सेवा प्रदान गर्ने कुरा यो अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि हामीले राख्दा उपयुक्त नै हुन्छ भन्ने कुरा किन लागेको छ भने अन्तर्राष्ट्रिय मापदण्डमा आइएमओको नियमहरू हामीले पालना गर्नुपर्ने सुरक्षा नियमनमा, जलमार्गको व्यवस्थापनमा यी कुराहरू कर तथा भन्सार नियमन पनि गर्ने कुराहरू रहेको कारणले यो चाहिँ सुरक्षित र व्यवस्थित र प्रभावकारी रहन्छ भन्ने लागेर मैले यसमा संशोधन हालेको हो ।’