रहेनन् ईशाई धर्मगुरु पोप फ्रान्सिस, ८८ वर्षको उमेरमा निधन
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
1.7k
Shares
काठमाडौँ । ईशाई धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा उनको मृत्यु भएको भ्याटिकन समाचार सेवाले जनाएको छ। उनको जन्म १७ डिसेम्बर १९३६ मा भएको थियो । उनी कलेजो र फोक्सो रोगबाट संक्रमित थिए ।
‘उहाँको सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित थियो,’ कार्डिनल फारेलले भने । विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई ‘नम्रताको मानिस’ भनेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोपको निधनमा दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पोप फ्रान्सिसको निधनमा गहिरो दुःख लागेको छ । दुःखको यस घडीमा दुनियाँका ईशाई समुदायप्रति मेरो हार्दिक समवेदना छ ।’
डच प्रधानमन्त्री डिक फले उनलाई ‘क्याथोलिक र गैर–क्याथोलिकहरूका लागि समान रूपमा रोल मोडेल’ भनेर वर्णन गरेका छन् ।
हजारौँ उपासकहरूलाई‘ ह्याप्पी ईस्टर’ को शुभकामना दिन सेन्ट पिटर स्क्वायरमा देखा परेको एक दिनपछि उनको मृत्यु भएको हो ।
फ्रान्सिसको पोपसीले क्याथोलिक चर्चमा सुधारहरू शुरू गरेका थिए, उनी परम्परावादीहरूका बीचमा निकै नै लोकप्रिय रहेका थिए ।
उनी अमेरिका वा दक्षिणी गोलार्धबाट पहिलो पोप हुन् । सिरियामा जन्मेका ग्रेगरी तेस्रोको ७४१ मा मृत्यु भएदेखि रोमको गैर युरोपियन पोप हुन सकेका थिएनन् ।
उनी सेन्ट पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट पनि हुन् । जेसुइटहरूलाई ऐतिहासिक रूपमा रोमद्वारा शंकाको नजरले हेरिने गरिन्छ ।
अर्जेन्टिनाका कार्डिनल बर्गोग्लियो रूपमा उनको प्रख्याती थियो, जब आफ्नो सत्तरी वर्षको उमेरमा उनी सन २०१३ मा पोप बनेका थिए ।