काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेट प्रतियोगितामा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुने तालिका छ ।
तर खराब मौसमका कारण खेल समयमै शुरु हुनेमा शंका छ । काठमाडौँमा बिहानै सिमसिम वर्षा भएकाले त्यसको असर मैदानमा पनि पर्ने देखिएको छ ।
नेपाल लगातार तीन जितपछि चौथो जितको खोजीमा छ । यो जित हासिल गरे नेपाल विश्वकपमा छानिने छ । अर्थात् अफगानिस्तानले पनि यसअघिका तीन ओटै खेल जितेको छ ।
रन रेटमा नेपालभन्दा अफगानिस्तान अगाडि छ । यो खेलको आजको विजेता नै विश्वकपमा छानिने छ ।
विश्वकपमा छानिन नेपाललाई आजको खेल जित्नैपर्ने हुन्छ । कथंकदाचित वर्षाले खेल हुन पाएन भने रन रेटका आधारमा अफगानिस्तान विश्वकपमा पुग्नेछ ।
यसअघि अफगानिस्तानले नेपालसँग तीन ओटा अभ्यास खेल खेलेको थियो । जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो ।
अफगानिस्तान बलियो टिम हो । तर घरेलु मैदानमा नेपालले पनि जादू देखाउन सक्छ ।
नेपालले पहिलो खेलमा यूएईलाई डकवर्थ लेविस पद्धति (डीएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको थियो ।
त्यस्तै तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको शानदार जित निकालेर आज अफगानिस्तानसँग भिड्न आइपुगेको हो ।
आज जित्ने टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा खेल्नेछ । अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।