arrow

बलुचिस्तानमा बढ्दो दमन र विरोध: मानवअधिकार उल्लङ्घन विरुद्ध चर्किँदो आन्दोलन

logo
एजेन्सी,
प्रकाशित २०८१ चैत २७ बुधबार
balochistan-human-rights-council-2025.jpg
तस्बिर : फाइल

क्वेटा। बलुचिस्तानमा पाकिस्तानी सुरक्षाकर्मीहरूद्वारा भइरहेको दमन र मानवअधिकार उल्लङ्घनका घटनाहरू दिनप्रतिदिन चर्किँदै गइरहेका छन्। हालै, तथाकथित काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले क्वेटाको केली कम्बरनीस्थित बलोच याक्जेहती कमिटी (बिवाईसी) की कार्यकर्ता बिबो बलोचको घरमा छापा मार्दै उनका बुबा मामा गफार कम्बरनीलाई जबरजस्ती बेपत्ता बनाएको छ। मामा गफार पहिले पनि राज्य संयन्त्रको हातबाट जबरजस्ती बेपत्ता पारिएको अनुभव गरिसकेका व्यक्ति हुन्।

बिबो बलोच हाल दुई सातादेखि बिवाईसीकी अर्की आयोजक डा. मेहराङ बलोचसँगै हुडा जेलमा पाकिस्तानी सुरक्षाकर्मीहरूको हिरासतमा छिन्। आजै, डा. सबिहा बलोचका बुबा पनि पक्राउ परेका छन्। यससँगै धेरै बिवाईसी कार्यकर्ताहरू पक्राउ परेका छन्, र दमनको लहर अब परिवारका सदस्यहरूलाई पनि लक्षित गर्न थालिएको छ।

बिवाईसीले यसलाई बलुच जनतामाथिको "राज्यद्वारा निर्देशित फासीवादी अधिनायकवाद" को संज्ञा दिएको छ। सङ्गठनले शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेका नागरिक र उनीहरूका परिवारलाई निशाना बनाउनु गैर कानुनी र अमानवीय भएको उल्लेख गरेको छ।

बीएनपी-एमको विरोध आन्दोलन र चक्का जाम
यसैबीच, बलुचिस्तान नेशनल पार्टी-मेङ्गल (बीएनपी-एम) ले प्रान्तव्यापी विरोध आन्दोलन सुरु गरेको छ। अध्यक्ष सरदार अख्तर मेङ्गलको नेतृत्वमा रहेको पार्टीले, लक्पास सुरुङ नजिकैको अवरोधपछि क्वेटातर्फको लामो मार्च रोकिनुका कारण सरकार विरुद्ध व्यापक आन्दोलनको घोषणा गरेको हो।

पार्टीले बलुचिस्तान बन्द र चक्का जाम हडतालको आह्वान गरेको छ। धेरै जिल्लामा विरोध प्रदर्शनहरू भइरहेका छन्। मेङ्गलले भनेका छन्, “जबसम्म हामीलाई क्वेटा जान दिइँदैन, लक्पासमा धर्ना जारी रहनेछ – चाहे त्यसमा दिन लागोस् वा महिना।” उनले कार्यकर्ताहरूलाई हुने कुनै पनि क्षतिको जिम्मेवारी राज्य र प्रान्तीय सरकारको हुने चेतावनी समेत दिएका छन्।

प्रदर्शनकारीहरूमाथि कडाइ, सुरक्षा बल तैनाथ
लक्पास विरोध स्थलमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। जसले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई दमन गर्ने खतरा बढाएको छ। रिपोर्टअनुसार, क्वेटाको सोना खान क्षेत्रमा कम्तीमा २० जना बीएनपी-एम कार्यकर्ता पक्राउ परिसकेका छन्। सिबी जिल्लामा, पार्टीका जिल्ला उपाध्यक्ष गुल रहमान मारी, महासचिव मलिक सुल्तान लगायत कैयौँ नेता पक्राउ परेका छन्।

सरकारले लामो मार्च रोक्नका लागि प्रमुख सडक मार्गमा खाडल खनेर कन्टेनरहरू राखेको छ भने, सहर वरपर मोबाइल नेटवर्कहरू निलम्बन गरिएको छ। यद्यपि, बीएनपी-एमले आन्दोलन नरोकिने स्पष्ट पारेको छ।

बिवाईसीको समर्थन र चेतावनी
बलोच याक्जेहती कमिटी (बिवाईसी) ले बीएनपी-एमको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै विज्ञप्तिमा लेखेको छ कि "राज्य आतङ्कवादको क्रूर रूप" बलुच जनतामाथि थोपारिएको छ। उनीहरूले बलुचिस्तानमा "फासीवाद" कार्यान्वयन गरिएको भन्दै, अभिव्यक्तिको स्वतन्त्रता सख्त रूपमा समाप्त पारिएको टिप्पणी गरेका छन्।

बिवाईसीले आफ्नो कैयौँ नेताहरू अहिले जेलमा रहेको जनाउँदै, सबै कामदार वर्गलाई प्रमुख राजमार्गहरू अवरुद्ध गरी आन्दोलन सफल पार्न आह्वान गरेको छ।

स्थिति अस्थिर, थप गिरफ्तारीको आशङ्का
प्रदर्शन चर्किँदै जाँदा बलुचिस्तानमा स्थिति अत्यन्तै अस्थिर बन्दै गएको छ। राजनीतिक कार्यकर्ता र नेताहरूलाई थप गिरफ्तार गरिने सम्भावना प्रबल देखिएको छ। नोश्की, ग्वादर, मस्तुङ, हब लगायत क्षेत्रहरूमा पनि लामो मार्च रोकिएको छ। ग्वादरमा धारा १४४ लागू गर्दै नागरिकलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।

बलुच जनताको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने सरकारी प्रयास र त्यसको विरुद्ध चर्किँदो प्रतिरोधले बलुचिस्तानमा ठूलो राजनीतिक तनाव उत्पन्न भएको छ। जसको दीर्घकालीन असर गम्भीर हुन सक्ने प्रस्ट देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ