बैशाखभर मनाइँदै हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
1.1k
Shares
काठमाडौँ । हरेक १२ वर्षमा एकपटक आयोजना हुने हलचोक आकाश भैरवको विशेष जात्रा यस वर्ष बैशाख १ गतेदेखि शुरु भएको हो । पुरानो परम्परा अनुसार यो जात्रा पूरै बैशाख महिनाभर विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ।
जात्राको शुरुआतमा राष्ट्रप्रमुख स्वयं उपस्थित भई पूजाआजा गर्ने परम्परा रहेको छ। जात्रामा आकाश भैरवलाई मुख्य देवताका रूपमा प्रस्तुत गरिन्छ भने चण्डी, कुमारी, पार्वती, महादेव, गंगा, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकालीलगायतका देवी(देवताका नृत्य पनि देखाइन्छ।
हलचोक आकाश भैरव नाचगान बैशाख ३, ६, ११, १२, १३, १८, १९, २०, २१, २५, २७, र ३१ गते केलटोल, मरु डबली, असन डबली, दमाई टोल, वतु चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रम्हटोल, खुसिबु, सोहखुट्टे, न्योखा, ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा क्रमशः प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ।
गुठीका अभिलेखअनुसार यो जात्राको सुरुवात नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले गरेका थिए। वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवले महालक्ष्मीको दर्शन पाएका थिए र उनकै प्रेरणाले राज्यलाई संकटबाट जोगाउन हलचोकमा आकाश भैरवसहितका देवगणलाई तान्त्रिक विधिबाट स्थापना गरिएको हो।
यस जात्राको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाबाट २५ लाख ४० हजार रुपैयाँ र नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।