arrow

मनाइयो सिन्दूर खेलेर सुथसिया जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
sindur-jatra-2082.jpg

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दूर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । 

बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दूर खेलेर सुथसिया जात्रा मनाएका हुन् । 

थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दूर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन् । 

यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । सोमबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ । 

थिमिमा ३२ देवीदेवताका खट सहभागी रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दूर जात्रा मनाइने गरेको छ । यसमा थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै मनाइन्छ । 

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई केही वर्षयता सिन्दूर जात्रा पनि भन्न थालिएको छ । 

बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको छ । 

परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ । 

खट जात्रा अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्यों, क्वाछे द्योंमा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाइएको छ ।

बिहानै सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्ने छ भने त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ः०० बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।

sudasiya-jatra-2082 (1).jpg
sudasiya-jatra-2082 (2).jpg
sudasiya-jatra-2082 (3).jpg
sudasiya-jatra-2082 (4).jpg
sudasiya-jatra-2082 (5).jpg
sudasiya-jatra-2082 (6).jpg
sudasiya-jatra-2082 (7).jpg
sudasiya-jatra-2082 (8).jpg
sudasiya-jatra-2082 (9).jpg
sudasiya-jatra-2082 (10).jpg
sudasiya-jatra-2082 (11).jpg
sudasiya-jatra-2082 (12).jpg
sudasiya-jatra-2082 (13).jpg
sudasiya-jatra-2082 (14).jpg
sudasiya-jatra-2082 (15).jpg
sudasiya-jatra-2082 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ