arrow

आन्दोलन तेह्रौँ औँ दिनमा

मंगलबारदेखि नयाँ शैक्षिक सत्र, आन्दोलनले सरकार र शिक्षक नैतिक दबाबमा [भिडिओ]

सरकारसँग दुई पटक वार्ता भए पनि निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
teacher-andolans.jpg

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १३ औँ दिन पनि प्रदर्शन जारी राखेका छन् । सरकार र शिक्षकबीच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलन नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा शुरु भएको थियो । 

एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरूले चैत २६ गतेदेखि शैक्षिक हडताल गरी आन्दोलनलाई थप तीव्रता दिएका छन् । सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ । लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको उनीहरूले आरोप लगाएका छन् । 

संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेको नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

गत चैत्र २० गते भन्दाअघि नै विद्यालय तहका सबै प्रकारका वार्षिक परीक्षा सकिएकाले पठनपाठनमा असर नपुगे पनि भोलि (वैशाख २ गते) देखि नयाँ शैक्षिक वर्ष शुरु हुने भएकाले शैक्षिक हड्तालले प्रत्यक्ष असर गर्ने देखिएको छ । वैशाख २ गतेदेखि देशभरका विद्यालयहरूमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका रहेको छ । 

शान्तिपूर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने नेपाल शिक्षक महासङ्घले यसअघि नै बताइसकेको छ । गत वर्ष पनि यही माग राखेर शिक्षकहरूले आन्दोलन गरेका थिए । आन्दोलनपश्चात् २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमति भएको थियो । तर सहमति भएको एक वर्ष पुग्दासमेत कार्यान्वयन गर्न सरकारले कुनै सङ्केत नदेखाएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

१३ दिनदेखि जारी आन्दोलनको सम्बोधन तथा शिक्षकहरूको माग पुरा गरी शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउनुपर्ने दबाबमा सरकार रहेको छ भने नयाँ शैक्षिक सत्र शुरु भएसँगै शैक्षिक हडताल फिर्ता लिएर विद्यालय सुचारु गर्न शिक्षकहरूलाई पनि नैतिक दबाब परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ