मीन राशिका लागि यो वर्ष सामान्य, केतुको छैटौँ गोचर शुभ फलदायी
वैदेशिक क्षेत्र, कृषि कर्म, कला, साहित्य आदि क्षेत्रमा मध्यम प्रगति
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
894
Shares
मीन राशिका लागि यो वर्ष सामान्य छ । केतुको छैटौँ गोचर शुभ फलदायी रहनाले धनार्जन, सुख प्राप्तिको समय छ । यो वर्ष वैदेशिक क्षेत्र, कृषि कर्म, कला, साहित्य आदि क्षेत्रमा मध्यम प्रगति हुन सक्छ ।
अध्ययन अध्यापनको क्षेत्रमा रोकावट आए पनि त्यसको समाधान गरेर सफल हुन सक्ने समय छ । वृहस्पति शनि तथा राहु ग्रहको गोचर अशुभ रहनाले र वर्षभरि मध्य साढे साति रहेकाले अनावश्यक यात्रा, खर्च बढ्ने, काममा ढिलासुस्ती, स्वास्थ्यमा समस्याको सामना गर्नुपर्ने समय छ ।
प्रेम तथा पारिवारिक जीवनमा समझदारी कायम गर्न आवश्यक छ । यो वर्ष महिनाका दृष्टिले जेठ, भदौ, पुष र माघ महिना शुभ रहेका छन् ।
असार, कार्तिक र फाल्गुन महिना अशुभ रहेका छन् भने अन्य महिना सामान्य रहेका छन् ।
यस वर्षको वैशाखः हानि नोक्सानी जेठः अप्रत्याशित लाभ असारः स्वास्थ्यमा बाधा साउनः आर्थिक संकट र ऋण वृद्धि भदौः शत्रु नाश र सुखवृद्धि असोजः लामो यात्रा र खर्चमा वृद्धि कार्तिकः स्वास्थ्यमा खर्च मङ्सिरः मानहानि पुसः धन र सुखवृद्धि माघः धन र सुखवृद्धि फागुनः आम्दानीभन्दा खर्चमा वृद्धि चैतः आम्दानी भन्दा खर्चमा वृद्धि
कर्मक्षेत्र/जागिरः मीन राशिका लागि नयाँवर्ष मिश्रित फलदायी रहनेछ। शनि साढेसातीको विशेष प्रभाव रहनेछ । शत्रु पक्ष सक्रिय रहन सक्नेछन् ।
निर्णय गर्दा बुद्धिपक्षको प्रयोग यो वर्ष सुखद् रहनेछ । भौतिक वस्तुको कार्य व्यवसायमा केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । पद प्रतिष्ठामा भने अभिवृद्धिका योग देखिन्छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।
अर्थ–वाणिज्यः आर्थिक दृष्टिले मीन राशिको नयाँवर्ष लाभदायी रहनेछ । धनको स्थान सबल रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै लगानीका नयाँ मार्ग पनि प्राप्त हुनेछन् ।
व्यापारमा पनि राम्रो प्रगति र लाभको संकेत देखिन्छ । ठोस वस्तुप्रतिको लगानी अधिक प्रतिफलदायी रहने देखिन्छ ।
शैक्षिक क्षेत्रः शैक्षिक दृष्टिले नयाँवर्ष लाभदायी रहनेछ । विदेशमा अध्ययन गर्ने अवसर मिल्नेछ ।
वैदेशिक क्षेत्र एवं यात्राः वैदेशिक यात्राका योग पनि देखिन्छन् । नयाँ कार्यप्राप्तिका साथै व्यवसायमा पनि अभिवृद्धि हुनेछ ।
स्वास्थ्यः स्वास्थ्यका दृष्टिले नयाँवर्ष मध्यम फलदायी रहनेछ। शीतजन्य वस्तुको प्रयोगमा सजग रहनु उचित हुनेछ । वात र पित्त प्रकृतिका विकार अधिक देखिन सक्नेछन् । स्वस्थ्य आहार विहारका साथै नियमित व्यायामले स्वास्थ्यमा थप अनुकूलता मिल्नेछ ।
घर परिवारः पारिवारिक जीवनमा सुखद समाचारहरू आउनेछन् । प्रेम सम्बन्धमा केही चुनौती आउन सक्छ । समझदारीपूर्वक अघि बढ्नु सुखद् रहनेछ ।
राजनीतिः राजनीतिको क्षेत्र नयाँ वर्ष सुखद् नै रहनेछ । पद प्रतिष्ठा प्राप्तिका योग पनि देखिन्छन् ।
उपायः शनि साढेसातीको प्रभाव वर्षभरि नै रहने भएकाले शिवजीको उपासनाका साथै शनिको मन्त्र जापका साथै शनिबार पीपलको दर्शन एवं सेवा सुखद् रहनेछ । यसैगरी दुर्गा भगवतीको उपासना शुभ फलदायी रहनेछ ।
शुभ रंगः पहेलो, गुलाबी बैजनी र रातो । शुभ अंकः १, ५ र ९ । शुभ बारः आइतबार, मंगलबार र बिहीबार । शुभ महिनाः जेठ, पुष र माघ ।