arrow

मकर राशिफल २०८२

मकर राशिका लागि यो वर्ष मध्यम, विद्यार्थीले मेहनत बढी गर्नुपर्ने

वृहस्पति तथा राहु–केतुको प्रतिकूल गोचरका कारण अध्ययन अध्यापनको क्षेत्रमा रोकावट, बोलीमा संयमता नअपनाउँदा गलत अर्थ लाग्न सक्ने

logo
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
horoscope-makar-cappricorn.jpg

मकर राशिका लागि यो वर्ष मध्यम रहन सक्छ । शनिको गोचर अनुकूल रहनाले शत्रु नाश हुनेछन् । सुखको वृद्धि हुनेछ । उद्योग, होटल व्यवसाय, सरकारी काम, यातायात व्यवसाय आदिबाट लाभ मिल्नेछ । 

आफन्त तथा साथीभाइको सहयोग प्राप्त हुनेछ । दीर्घकालीन रोगबाट राहत मिल्नेछ । वृहस्पति तथा राहु–केतुको प्रतिकूल गोचरका कारण अध्ययन अध्यापनको क्षेत्रमा रोकावट, बोलीमा संयमता नअपनाउँदा गलत अर्थ लाग्न सक्ने, काममा विघ्नबाधाको सामना गर्नुपर्ने समय रहेकाले सतर्कता अपनाउँदा राम्रो हुन्छ । 

यो वर्ष महिनाका दृष्टिले असार, कार्तिक, मङ्सिर र चैत महिना शुभ रहेका छन् । त्यस्तै वैशाख, भदौ र पुष महिना अशुभ रहेका छन् भने अन्य महिना सामान्य रहेका छन् । 

यो वर्षको 
वैशाखः मनोबलमा कमी
जेठः हीनता
असारः शत्रु पराजय
साउनः यात्रा
भदौः कष्ट र परिश्रम
असोजः कान्तिक्षय
कार्तिकः धननाश
मङ्सिरः कार्यसिद्धी
पुसः धननाश र पीडा
माघः स्थान परिवर्तन
फागुनः हानि नोक्सानी
चैतः स्वास्थ्य लाभ

कर्मक्षेत्र/जागिरः मकर राशिका लागि नयाँवर्ष उन्नतिकारक रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । नोकरीमा पदोन्नति र नयाँ अवसरहरू प्राप्त हुनेछन् । राजनीतिमा प्रभाव जमाउने मौका मिल्नेछ र उच्च स्थानमा पुग्न सकिनेछ । कामबाट उच्च स्थान प्राप्त गर्ने सम्भावना छ । 

आर्थिकः आर्थिक पक्ष यो वर्ष सुखद् नै रहने देखिन्छ । धातुजन्य वस्तुको व्यवसाय सुखद् रहनेछ । पञ्चम गुरूको प्रभावले तपाईंको योजनाहरू र कामलाई अघि बढाउँछ। व्यापारमा नयाँ अवसरहरू खुल्नेछन् र सोचेभन्दा बढी लाभ मिल्नेछ। विशेष गरी वैदेशिक व्यापार र कुटनीतिक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। आर्थिक स्थिति बलियो हुनेछ । आम्दानीका अवसरहरू बढ्नेछन् र आर्थिक कारोबारमा सकारात्मक वृद्धि हुनेछ । व्यापार र लगानीमा पनि लाभ हुने संकेत छ । त्यसैगरी, वैदेशिक कार्य र विदेश यात्रा गर्नका लागि मौका मिल्ने देखिन्छ ।

पारिवारिक जीवनः पारिवारिक जीवन सुमधुर रहनेछ । वैवाहिक जीवनमा पनि समझदारी र सामञ्जस्य रहनेछ । पति–पत्नी बीचको सम्बन्ध राम्रो हुनेछ । प्रेमसम्बन्ध सुखद् रहनेछ । मैत्री भावमा वृद्धि हुने देखिन्छ । सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । 

स्वास्थ्यः स्वास्थ्यमा सामान्य समस्या आउन सक्छन् । विशेष गरी आषाढ महिनाबाट शनि वक्र भएपछि स्वास्थ्य र खानपानमा सजग रहनुपर्ने देखिन्छ। नियमित ध्यान एवं योगाभ्यास स्वास्थयका निम्ति सुखद् रहनेछ । 

शिक्षा र यात्राः वैदेशिक अध्ययन र यात्राका अवसरहरू प्राप्त हुनेछन् । यदि तपाई विदेश जान चाहनुहुन्छ भने यो राम्रो समय हो । आषाढदेखि कार्तिक महिनासम्म तपाईको शिक्षा र अनुसन्धानका क्षेत्रमा उत्कृष्ट परिणाम आउने सम्भावना देखिन्छ । वैशाख, भाद्र र पौष महिना केही चुनौतीपूर्ण हुन सक्नेछन् । यस समयमा संयम र सजगता अपनाउनु उचित हुनेछ । मूलतः गरेर व्यापार, शिक्षा र पारिवारिक जीवनमा सुखद् रहनेछ । स्वास्थ्य र आर्थिक कारोबारमा केही सजगता अपनाउनु होला । 

उपायः समग्र कल्याणका निम्ति दुर्गा भगवतीको उपासना यो वर्ष सुखद् रहने देखिन्छ । ग्रह शान्ति आदि गरेर भगवान् विष्णुको उपासना र देवीको उपासना गरेर वर्षभरि मान प्रतिष्ठा बढाउन सक्नुहुनेछ । वृहस्पति र राहुको शान्तिको लागि पीपलको पूजा गर्नुहोस् ।

शुभ रंगः कालो, नीलो, बैजनी र खैरो ।
शुभ अंकः ३, ६, र ९ ।
शुभ बारः बुधबार, शुक्रबार र शनिबार ।
शुभ महिनाः कार्तिक, पुष र चैत रहेको छ भने अन्य महिना सामान्य रहनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ