तुला राशिका लागि यो वर्ष शुभ फलदायी, शैक्षिक क्षेत्रमा प्रगति
स्वास्थ्य समस्याबाट राहतको अनुभूति हुनुका साथै शत्रु नाश हुने समय
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
850
Shares
तुला राशिका लागि यो वर्ष शुभ फलदायी रहेको छ । वृहस्पति ग्रहको नवौँ गोचर र शनि ग्रहको छैटौँ गोचर शुभ फलदायी रहने भएकाले शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्य समस्याबाट राहतको अनुभूति हुनुका साथै शत्रु नाश हुने समय छ ।
आम्दानीको मार्ग प्रशस्त हुनाले आर्थिक उन्नतिको समय छ । केतुको शुभ गोचरले अकस्मात् धन प्राप्त हुन सक्छ । पहिले शुरु गरिएका कामहरुबाट सफलता प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ भने पारिवारिक वातावरण राम्रो रहनेछ ।
तर राहुको पाँचौं गोचरका कारण सन्तानको क्षेत्रबाट खर्च बढ्नुका साथै सन्तानको कारण चिन्ता बढ्न सक्छ। यो वर्ष महिनाका दृष्टिले साउन, भदौँ, पुष र चैत महिना शुभ रहेका छन् । त्यस्तै जेठ, असोज र माघ महिना अशुभ रहेका छन् भने अन्य महिना मध्यम रहेका छन् ।
वैशाखः लामो यात्रा र खर्चमा वृद्धि जेठः स्वास्थ्यमा समस्या असारः मानसम्मानमा हानि साउनः सुख र धनवृद्धि भदौः गुमाएको धन हात लाग्ने असोजः खर्चमा वृद्धि कार्तिकः स्थान परिवर्तन मङ्सिरः स्वास्थ्य सम्बन्धित समस्या पुसः धनलाभ माघः मान सम्मानमा कमी फागुनः आर्थिक संकट र ऋण चैतः शत्रुनाश
कर्मक्षेत्र–जागिरः तुला राशिका लागि २०८२ साल सुखद् रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै पदप्रतिष्ठा वृद्धिका योग पनि देखिन्छन् । कर्मभावका स्वामी चन्द्रमा लग्नमा निवास गरेकाले कार्यक्षेत्रमा सफलता मिल्नेछ । कलात्मक पक्ष यो वर्ष सुखद् रहने देखिन्छ। प्राविधिक कार्यमा विशेष लगाव रहनुका साथै उन्नतिका योग पनि देखिन्छन् । प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ। परोपकारी कार्यमा संलग्नता रहनुका साथै कार्यव्यवसायमा पनि उन्नति हुने देखिन्छ ।
अर्थ वाणिज्य क्षेत्रः आर्थिक दृष्टिले तुला राशिका लागि २०८२ साल सबल नै रहनेछ । मेसिनरी वस्तुको व्यवसाय विशेष लाभदायी रहनेछ । भूधनमा वृद्धि हुनेछ । जग्गा जमीनका साथै गृहव्यवसायमा पनि उन्नति हुने देखिन्छ। बैंक एवं वित्तीय क्षेत्रबाट उन्नति नै रहनेछ । शेयर व्यवसायमा भने बुद्धिपक्षको प्रयोग लाभदायी रहनेछ । लगानीका नयाँ अवसर प्राप्त हुनेछन् ।
शैक्षिक क्षेत्रः शैक्षिक दृष्टिले यो वर्ष सबल नै रहनेछ । प्राविधिक पक्षको अध्ययनार्थीलाई वर्ष सुखद् रहने देखिन्छ । अध्ययनकै शिलशिलामा यात्राका योग पनि देखिन्छन् । सृजनात्मक क्षेत्रमा पनि मन अभिप्रेरित रहने देखिन्छ । सांगीतिक क्षेत्र पनि यो वर्ष सफल नै रहनेछ।
वैदेशिक क्षेत्र एवं यात्राः विशेषगरी वर्षको पूर्वार्धमा यात्राका योग देखिन्छन् । देश विदेश परिभ्रमण सार्थक र सुखद् रहनेछ । यात्रका साथै खर्चमा भने वृद्धिहुनसक्नेछ । वैदेशिक क्षेत्र पनि उन्नत नै रहनेछ। आमदानीका स्रोत बढ्नुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् ।
स्वास्थ्यः स्वास्थ्यका दृष्टिले २०८२ साल मध्यम फलदायी रहनेछ । स्वास्थ्यभाव सबल नै रहे पनि उत्तरार्धबाट भने पित्तप्रकृतिका रोगले दुःख दिन सक्नेछन् । स्वच्छ आहारका साथै शारीरिक व्यायामले स्वास्थ्यमा अनुकूलता प्राप्त हुने देखिन्छ । घर परिवार आफन्तजनमा सरसहयोगको भावना अभिवृद्धि हुनेछ। मातृ पितृस्थान पनि सुखद् नै देखिन्छन् । सन्तान सुखका साथै दाम्पत्य जीवन पनि सफल रहनेछ ।
प्रेम जीवनः प्रेम जीवन पनि तुला राशिका लागि पारखिलो नै रहनेछ। अहंपनको त्यागले प्रेममा अझ नजिक तुल्याउनेछ । श्रावणदेखि कार्तिक महिनासम्मको समय सुखद् रहनेछन् ।
उपायः सामाजिक कार्यमा अग्रसरताका साथै राजनीतिक यात्राका विशेष योग पनि देखिन्छन् । भगवती दुर्गाको उपासना कल्याणकारी रहनेछ । साथै भगवान विष्णु र गणेशको उपासना गर्दै साथै ग्रह शान्ति गराएर सुख प्राप्त गर्न सक्नुहुनेछ । अशक्तहरूको सेवा गर्नुहोस् । शुभ रंगः सेतो, आकाशे, हरियो र कालो । शुभ अंकः ६, ८ र ४ । शुभ बारः बुधबार, शुकबार र शनिबार । शुभ महिनाः साउन, भदौ र पुष ।