arrow

तुला राशिफल २०८२

तुला राशिका लागि यो वर्ष शुभ फलदायी, शैक्षिक क्षेत्रमा प्रगति

स्वास्थ्य समस्याबाट राहतको अनुभूति हुनुका साथै शत्रु नाश हुने समय

logo
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
horoscope-tula-libra.jpg

तुला राशिका लागि यो वर्ष शुभ फलदायी रहेको छ । वृहस्पति ग्रहको नवौँ गोचर र शनि ग्रहको छैटौँ गोचर शुभ फलदायी रहने भएकाले शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्य समस्याबाट राहतको अनुभूति हुनुका साथै शत्रु नाश हुने समय छ । 

आम्दानीको मार्ग प्रशस्त हुनाले आर्थिक उन्नतिको समय छ । केतुको शुभ गोचरले अकस्मात् धन प्राप्त हुन सक्छ । पहिले शुरु गरिएका कामहरुबाट सफलता प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ भने पारिवारिक वातावरण राम्रो रहनेछ । 

तर राहुको पाँचौं गोचरका कारण सन्तानको क्षेत्रबाट खर्च बढ्नुका साथै सन्तानको कारण चिन्ता बढ्न सक्छ। यो वर्ष महिनाका दृष्टिले साउन, भदौँ, पुष र चैत महिना शुभ रहेका छन् । त्यस्तै जेठ, असोज र माघ महिना अशुभ रहेका छन् भने अन्य महिना मध्यम रहेका छन् ।

वैशाखः लामो यात्रा र खर्चमा वृद्धि
जेठः स्वास्थ्यमा समस्या
असारः मानसम्मानमा हानि
साउनः सुख र धनवृद्धि
भदौः गुमाएको धन हात लाग्ने
असोजः खर्चमा वृद्धि
कार्तिकः स्थान परिवर्तन
मङ्सिरः स्वास्थ्य सम्बन्धित समस्या
पुसः धनलाभ
माघः मान सम्मानमा कमी
फागुनः आर्थिक संकट र ऋण
चैतः शत्रुनाश

कर्मक्षेत्र–जागिरः तुला राशिका लागि २०८२ साल सुखद् रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै पदप्रतिष्ठा वृद्धिका योग पनि देखिन्छन् । कर्मभावका स्वामी चन्द्रमा लग्नमा निवास गरेकाले कार्यक्षेत्रमा सफलता मिल्नेछ । कलात्मक पक्ष यो वर्ष सुखद् रहने देखिन्छ। प्राविधिक कार्यमा विशेष लगाव रहनुका साथै उन्नतिका योग पनि देखिन्छन् । प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ। परोपकारी कार्यमा संलग्नता रहनुका साथै कार्यव्यवसायमा पनि उन्नति हुने देखिन्छ । 

अर्थ वाणिज्य क्षेत्रः आर्थिक दृष्टिले तुला राशिका लागि २०८२ साल सबल नै रहनेछ । मेसिनरी वस्तुको व्यवसाय विशेष लाभदायी रहनेछ । भूधनमा वृद्धि हुनेछ । जग्गा जमीनका साथै गृहव्यवसायमा पनि उन्नति हुने देखिन्छ। बैंक एवं वित्तीय क्षेत्रबाट उन्नति नै रहनेछ । शेयर व्यवसायमा भने बुद्धिपक्षको प्रयोग लाभदायी रहनेछ । लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । 

शैक्षिक क्षेत्रः शैक्षिक दृष्टिले यो वर्ष सबल नै रहनेछ । प्राविधिक पक्षको अध्ययनार्थीलाई वर्ष सुखद् रहने देखिन्छ । अध्ययनकै शिलशिलामा यात्राका योग पनि देखिन्छन् । सृजनात्मक क्षेत्रमा पनि मन अभिप्रेरित रहने देखिन्छ । सांगीतिक क्षेत्र पनि यो वर्ष सफल नै रहनेछ। 

वैदेशिक क्षेत्र एवं यात्राः विशेषगरी वर्षको पूर्वार्धमा यात्राका योग देखिन्छन् । देश विदेश परिभ्रमण सार्थक र सुखद् रहनेछ । यात्रका साथै खर्चमा भने वृद्धिहुनसक्नेछ । वैदेशिक क्षेत्र पनि उन्नत नै रहनेछ। आमदानीका स्रोत बढ्नुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । 

स्वास्थ्यः स्वास्थ्यका दृष्टिले २०८२ साल मध्यम फलदायी रहनेछ । स्वास्थ्यभाव सबल नै रहे पनि उत्तरार्धबाट भने पित्तप्रकृतिका रोगले दुःख दिन सक्नेछन् । स्वच्छ आहारका साथै शारीरिक व्यायामले स्वास्थ्यमा अनुकूलता प्राप्त हुने देखिन्छ । घर परिवार आफन्तजनमा सरसहयोगको भावना अभिवृद्धि हुनेछ। मातृ पितृस्थान पनि सुखद् नै देखिन्छन् । सन्तान सुखका साथै दाम्पत्य जीवन पनि सफल रहनेछ । 

प्रेम जीवनः प्रेम जीवन पनि तुला राशिका लागि पारखिलो नै रहनेछ। अहंपनको त्यागले प्रेममा अझ नजिक तुल्याउनेछ । श्रावणदेखि कार्तिक महिनासम्मको समय सुखद् रहनेछन् । 

उपायः सामाजिक कार्यमा अग्रसरताका साथै राजनीतिक यात्राका विशेष योग पनि देखिन्छन् । भगवती दुर्गाको उपासना कल्याणकारी रहनेछ । साथै भगवान विष्णु र गणेशको उपासना गर्दै साथै ग्रह शान्ति गराएर सुख प्राप्त गर्न सक्नुहुनेछ । अशक्तहरूको सेवा गर्नुहोस् ।
शुभ रंगः सेतो, आकाशे, हरियो र कालो ।
शुभ अंकः ६, ८ र ४ ।
शुभ बारः बुधबार, शुकबार र शनिबार ।
शुभ महिनाः साउन, भदौ र पुष ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ